अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी १५ जेठमा हुने चुनावअन्तर्गत सी डिभिजन प्रतिनिधि छनोटमा अध्यक्षका प्रत्यासी पंकजविक्रम नेम्बाङको पकड बलियो देखिएको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको सी डिभिजन चुनावमा १४ क्लबमध्ये नौ क्लबबाट उपाध्यक्ष पंकज निकटले मताधिकार पाएका हुन्।सहभागी १४ क्लबबाट सी डिभिजनका नौ क्लबले मात्रै मताधिकार पाउनेछन्। जसकारण वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पंकजले दह्रो चुनौती दिएका छन्।
कर्मा निकट देखिएका रानीवन स्पोर्टस् क्लब, समाज कल्याण खेलकुद केन्द्र र स्पोर्टस् एकेडेमी साँगा भने सर्वाधिक कम तीन मत पाउँदै मताधिकारबाट बञ्चित भए।
वीरगन्ज युथ एकेडेमी, महावीर क्लब, खालीवारी क्लब, स्वयम्भू क्लब, आरसी ३२ फुटबल एकेडेमी, मनोहरा युनाइटेड क्लब, प्लानिङ ब्वाइज युनाइडेट, ओसिस क्लब, पुल्चोक स्पोर्टसले भने मताधिकार पाएका छन्। सानेपा क्लब तदर्थ बस्दा झापा फुटबल क्लब भने चुनावमा सहभागी भएन।
वीरगन्ज, महाविर, खालीवारी र स्वयम्भूले सर्वाधिक १२ मत पाए। यस्तै आरसी ३२ ले ११ मत पाउँदा मनोहराले १० मत पायो। प्लानिङ ब्वाइज, ओसिस, पुल्चोकले नौ मत पाए। यी नौ क्लबले आगामी एन्फा चुनावमा सी डिभिजन क्लबको प्रतिनिधित्व गर्दै भाग लिन पाउनेछन्।
यता, बी डिभिजन लिगको समेत आजै चुनाव हुँदैछ। बी डिभिजनबाट ११ क्लबले मताधिकार पाउनेछन्। यसअघि एन्फा नेतृत्वमा संगै आएका कर्मा र पंकज एक आपसका विरोधीका रूपमा आगामी चार वर्षका लागि चुनावी प्रतिस्पर्धा गर्दैछन्।