इलामको देउमाई नगरपालिकाको मङगलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
खेलकुदका माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्न तथा ग्रामिण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्येश्यले सो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिने छ। युनाइटेड देउमाई युथ क्लब र देउमाई नगरपालिकाले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। स्थानीय १६ युवाको सक्रियतामा दुई महिना अघि मात्र क्लब स्थापना भएको हो। भानुभक्त माविको छात्राबास खेल मैदानमा सो प्रतियोगिताका खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिए।
प्रतियोगितामा जिल्ला बाहिरका तीनसहित आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्ने छ। प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ क्लब तथा सशस्त्र प्रहरी बल सुनसरी, डाँगिहाट एफसी बेलबारी र फिदिम स्पोर्टीङ्ग क्लब पाँचथरको सहभागिता रहने अध्यक्ष लिम्बूले जानकारी दिए।
नेपाल आइसको मुख्य प्रायोजन रहेको उक्त गोल्डकपको प्रथम पुरस्कार उसले नै प्रदान गर्नेछ। करिब रु २० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि हालसम्म रु पाँच लाख ५० हजार संकलन भएको बताइएको छ । देउमाई नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ। देउमाई नगरपालिका वडा नम्बर ५ ले रु ५० हजार तथा वडा नम्बर ४ ले रु ३० हजार सहयोग गरेको आयोजकले जनाएको छ।