उर्लाबारीमा फागुन १५ गतेदेखि फुटबल प्रतियोगिता हुने

उर्लाबारीमा फागुन १५ गतेदेखि तेस्रो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ।

आयोजक उर्लाबारी फुटबल क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो।

उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने प्रतियोगिता फागुन २१ गतेसम्म सञ्चालन हुने खेल संयोजक विशाल तामाङले बताए।

उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव भीष्म बुढाथोकीले बताए। 

प्रतियोगिताको मुख्य प्रायोजक उर्लाबारी नगरपालिका रहने र खेल सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले बताए।

प्रतियोगिताकै अवसरमा साफ प्रतियोगितामा च्याम्पियन बन्न सफल नेपाली फुटबल टोलीका सदस्य उर्लाबारी निवासी मिक्चेन तामाङ र साफ च्याम्पियनमा महिलातर्फ रजत पदक विजेता टोलीकी कविता धिमाललाई नगदसहित सम्मान गरिने क्लबका कार्यवाहक अध्यक्ष सुब्रत अधिकारीले बताए। 

तामाङलाई ७५ हजार र धिमाललाई ५० हजारसहित उनीहरुलाई सम्मान गरिने जनाइएको छ।

यस्तै, उर्लाबारी घर भई राष्ट्रिय टिममा स्थान बनाउन सफल फुटबल खेलाडीहरु विजय धिमाल र रजिन धिमाललाई पनि नगदसहित सम्मान गरिने क्लबले जनाएको छ। 

पत्रकार सम्मेलनकै अवसरमा प्रत्येक वडाका जनप्रतिनिधिको रोहबरमा लट्री गरी टाइसिट तयार गरिएको छ। 

जसअनुसार प्रतियोगिताको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन उर्लाबारी वडा नं. ६ र वडा नं. ३ बीच हुने भएको छ। 

पत्रकार सम्मेलनमा क्लबका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, वडा नं। ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, क्लबका कोषाध्यक्ष योगराज फागोलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-02-17 22:13:00

प्रतिकृया दिनुहोस्