कुशल भुर्तेलको शानदार अविजित शतकप्रेरित नेपालले आइसीसी विश्वकप टी–२० को ग्लोबल छनोटअन्तर्गत शनिबारको खेलमा फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रनको योगफल तयार गर्यो।
दोस्रो ओभरमै ओपनर आशिफ शेखलाई गुमाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल पनि मात्रै १२ रन बनाएर पेभेलियन फर्केका थिए।
यद्यपि, तेस्रो विकेटका लागि ओपनर कुशल र दीपेन्द्रसिंह ऐरीले १७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई ठूलो योगफलतर्फ डोर्याए। फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रको यो साझेदारी टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा ठूलो हो।
यसअघि नेपालका पूर्वकप्तान पारस खड्का र आरिफ शेखले २८ सेप्टेम्बर २०१९ मा सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए।
कीर्तिमानी साझेदारी गर्दै कुशल नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने। यसअघि पारस र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए।
फिलिपिन्सविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित इनिङ खेल्दा दीपेन्द्र ४७ बलमा ६ चौका ४ छक्कासहित ८३ रन बनाएर पेभेलियन फर्के। यस्तै पहिलो बलमै छक्का प्रहार गरेका लोकेश बम ३ बलमा ६ रन बनाएर अविजित रहे।
शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ। सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ।
प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।