७५ केजी लागूऔषधसहित भारतीय नागरिक पक्राउ

File photo
File photo

बाराको सिम्रौनगढ नगरपालिका–२ महुवाहीबाट करिब ७५ केजी अवैध लागूऔषध सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत विहार मोतियारीग्राम पिपरा बस्ने ४० वर्षीय हिरदेश गिरी रहेका छन्। उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

पाँच वटा जुटको बोरा बोकी नेपालबाट भारततर्फ जाँदै गरेका ७÷८ जना व्यक्तिहरू तथा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल बिओपी गोलागञ्जबाट खटिएको संयुक्त गस्ती टोलीबीच जम्काभेट हुँदा उनीहरुले प्रहरीलाई लक्षित गरी फायरिङ गरेका थिए।

प्रहरीले आत्मसुरक्षाका लागि जवाफी फायर गर्दा घाइते भएका १ जना पुरुषलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनीहरूमध्ये गिरीलाई उक्त परिमाणको लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो। हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति: : 2022-02-24 13:05:00

प्रतिकृया दिनुहोस्