दाङमा पहिलो पटक सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुँदै

दाङमा पहिलो पटक सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता ‘दाङ क्रिकेट लिग–२०७८’ हुने भएको छ। 

दाङ क्रिकेट संघको आयोजनामा आगामी चैत्र १२ गतेदेखि १८ गतेसम्म पाँच वटा फ्रेन्चाईज क्लबमार्फत खेलाडी खरीद गरेर घोराहीमा प्रतियोगिता हुन थालेको हो। लिगमा स्थानीयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलिसकेका खेलाडीहरुले प्रतिष्पर्धा गर्ने भएका छन्।

आयोजक दाङ क्रिकेट संघले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर दाङ क्रिकेट लिगको बारेमा जानकारी गराएको छ।

घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया क्रिकेट मैदानमा गर्न लागिएको प्रतियोगिता जिल्लाकै पहिलो ठूलो राशीको खेलाडी किन बेचमा आधारित प्रतियोगिता भएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिए। 

उनले अहिलेसम्मकै ठूलो प्रतियोगिताले जिल्लाका खेलाडीहरुलाई प्रतिस्पर्धात्मक वातावरणमा क्रिकेट खेल्न सक्ने र क्षमतालाई निखार्न सहयोग पुग्ने बताए।

दाङ जिल्ला खेलकुद विकास समितिका निर्वतमान कोषाध्यक्ष तथा क्रिकेट संघका सल्लाहकार कैलाश रोकामगरले प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनदेखि जिल्ला बाहिर क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रतियोगितालाई सफल बनाउनका लागि सबै लाई सहयोग गर्न समेत आग्रह गरे।

दाङ क्रिकेट लिगका लागि पाँच वटा टीमले १४ जना खेलाडी खरीद गर्ने हुँदा प्रत्यक टीममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका २ जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने व्यवस्था गरिएको छ। 

त्यस्तै लुम्बिनी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टीम रहने भएको छ।

जसमा १३ जना अक्सन विधिबाट आउने छन् भने एक जना मार्की खेलाडीका रुपमा टीमले आफैं खुल्ला रुपमा भित्र्याउन पाउने छ । उक्त खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने आयोजक दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष मजगैयाले बताए। 

उनले प्रतियोगितामा सहभागी हुनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम चलिसकेका खेलाडीहरुले समेत नाम दर्ता गरेको बए।

प्रतियोगिताका लागि अक्सानमा न्यूनतम ४ हजारदेखि अधिकतम १ लाख ४ हजार रुपैयाँसम्म टिमले खर्च गरेर खेलाडी अनुबन्धन गर्ने नियम रहेको दाङ जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष तथा सल्लाहकार किशोरचन्द्र गौतमले जानकारी दिए। प्रतियोगितामा जिल्लाको पहिचान झल्कने गरी टीमको नाम राखिएको आयोजकले जानकारी गराएको छ।

लिगका लागि करीव २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। 

त्यसैगरी प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट म्यान अफ द सिरिज खेलाडीलाई नगद १५ हजार, म्यान अफ द म्याचलाई नगद १५ हजार, सबै भन्दा धेरै रन र विकेट लिने खेलाडीलाई १०/१० हजार र इर्मेजिङ प्लेयरलाई नगद पाँच हजार रुपैया पुरस्कार प्रदान गरिने छ।

प्रकाशित मिति: : 2022-03-04 21:27:00

प्रतिकृया दिनुहोस्