दशरथचन्द नगरपािलका– ४ खलङ्गा, बैतडीको देहिमाडौँमा जारी पाँचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
खलङ्गाले दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई ९७ रनले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। ्खलङ्गाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा दुर्गाभवानी १७.२ ओभरमा १२३ रनमा समेटियो।दुर्गाभवानीका लागि रवीन्द्र नाथले सर्वाधिक ३७ रन बनाए।हार टार्न नसक्दा दुर्गाभवानी प्रतियोगिताबाटै बाहिरिएको छ।
बलिङतर्फ खलङ्गाका कप्तान मोहित भण्डारीले ३ तथा प्रदीप चन्द र वीरेन्द्र चन्दले २-२ विकेट लिए । त्यसअघि निङ्ग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गर्दै खलङ्गाले निर्धारित २० ओभरमा प्रदीप चन्दको ८१ रनको मद्दतमा २२० रन बनायो । बलिङतर्फ दुर्गाभवानीका शङ्कर नाथले २ विकेट लिए।
खलङ्गाका प्रदीप चन्द म्यान अफ दी म्याच घोषित भए। प्रशिक्षक दीपेन्द्रबहादुर बोहराका अनुसार अर्को खेलमा दशरथचन्द नगरपालिका–११ नागार्जुनले दशरथचन्द नगरपालिका–७ दुर्गास्थानलाई ९२ रनले पराजित गरेको छ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता आगामी चैत २ गते सम्पन्न हुने छ।उपाधि विजेताले रु ७५ हजार र उपविजेताले रु ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।