बाध्य पारियो

photograph by Fanatic Studio
photograph by Fanatic Studio

जमानामा एकजना घागडान (चलाख) नेताले भन्नु भएको थियो,‘हामीलाई पजेरो लिन बाध्य पारियो।’ अर्को एक जना नेताले भन्नु भयो,‘हामीलाई आफ्नो मातृभाषामा नबोल्न बाध्य पारियो।’ त्यस्तै भनियो,‘हामी क्रान्तिबाट आएकालाई संसदीय भासमा जान बाध्य पारियो।’ ओलीले भन्नु भएको थियो,‘प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनमा रूचि थिएन तर बाध्य पारियो।’ त्यस्तै काठमाडाैँमा ३-४ बटा घर भएका एकजनालेे भन्नु भयो,‘कम तलब दिएर घुस खान बाध्य पारियो।’ खानेपानीको उपभोक्ता समितिभित्र झगडा भएर पानी चल्न नसकेपछि उसले भन्यो,‘हामीलाई बिग्रिएको योजना हस्तान्तरण गरेर लिन बाध्य पारियो।’ त्यस्तै एकजना साथीले उमेर र शक्ति हुँदा ‘गजब’का कर्म गरेका थिए, अहिले अध्यात्ममा लागेका रहेछन्, उनले भने,‘मेरा प्रश्नको जबाफ विज्ञानमा फेला नपरेर यता आउन बाध्य पारियो।’ अझ त्यो भन्दा किटानी साथभन्दा, ‘छिमेकी देशको रबैयाले गर्दा सुरुङ्ग युद्ध गर्न बाध्य पारियो।’

एक साथी, पहिले रक्सी नखाने, एक दिन उनले मज्जैले खाएको देखेर जिल्ल पर्दै थिएँ। उनले गिलास उचालेर भनि पनि हाले,‘रक्सी खान बाध्य पारियो, बानी लागि हाल्यो।’ मैले विचार गरेँ, बिचरो ! घरमा श्रीमतीले धेरै नै किचकिच गरेर रक्सी खान बाध्य पारिन्, होला। तर, कुरा अर्कै रहेछ। उनले भने,‘के गर्ने, एक्स्ट्रा (अतिरिक्त) पाउने पैसा मध्ये केही यस्तोमा खर्च हुँदो रहेछ। मैले रक्सी नखादैंमा तपाईंले खानुभएको छैन तपाईंको पैसा चाहिँ घटाएको छैन है नभन्ने रहेछन्, किन आफैले आफैलाई टुट्टा पार्नु भनेर सुरु गरियो।’ कत्रो बाध्यता !

खासमा यो अदृश्य ‘बाध्य पार्ने’ चाहिँ को हो ? थाह छैन। सबैले ‘बाध्य पारियो’  मात्र भन्छन्, प्यासिभ भ्वाइसमा। सबैलाई सोध्यो,‘कसले बाध्य पार्‍यो त ?’ सबैबाट एउटै उत्तर पाइन्छ, ‘सिस्टमले बाध्य पार्‍यो’ वा ‘परिस्थितिले बाध्य पार्‍यो।’

तर, अलि प्रगतिको कुरो, आजकाल किटानीका साथ कसले कसलाई बाध्य पार्‍यो, भन्ने पनि सुनिन थालिएको छः

१. एकजना बालिकाले हिरोलाई बलात्कार गर्न बाध्य पारिछिन्।

२. युक्रेनमा आक्रमण गर्न रूसलाई बाध्य पारिएछ।

३. अमेरिकाले नेपाललाई बिना ब्याजको सहयोग लिन बाध्य पारेछ।

४. विपक्षीको भूमिकाले गर्दा सरकारलाई अर्ली-इलेक्शनबारे सोच्न बाध्य पारेछ।

५. ठूला देशहरूले सानालाई खाेपको गीनिपिग बन्न बाध्य पारेछन्।

प्रकाशित मिति: : 2022-03-13 15:59:00

प्रतिकृया दिनुहोस्