आर्मीका कोच भन्छन्– उपाधिको साढे ९ लाख अझै पाएनौं

त्रिभुवन आर्मी क्लबले तीन वर्षअघि झापामा भएको पूर्वाञ्चल गोल्डकपको उपाधि वापतको रकम अझैसम्म नपाएको गुनासो गरेको छ।

सो रकम दिलाइदिन आर्मीले झापाका सरोकारवाला पक्षसँग आग्रह गरेको छ। आइतबार झापा गोल्डकपको प्रिम्याच कन्फरेन्समा आर्मीका कोच नविन न्यौपानेले पूर्वाञ्चल गोल्डकप आयोजकले साढे ९ लाख रुपैयाँ नदिएको जानकारी दिए।

‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ २०७६ मा आयोजना गरिएको थियो। सो गोल्डकपको आयोजना गर्ने जायोन स्पोर्टस क्लबले गोल्डकपको उपाधि विजेता त्रिभूवन आर्मी क्लबलाई धेरै ताकेतापछि तीन लाख दिएको कोच न्यौपानेले जानकारी दिए।

प्रतियोगिता आयोजना गर्ने जायोन क्लबले उपाधि विजेतालाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार नगद पुरस्कार दिने घोषणा गरेर प्रतियोगिता आयोजना गरेको थियो।

पत्रकार सम्मेलनमा आर्मीका कोच न्यौपानेले झापा जिल्लाकै बद्नाम हुने काम भएको भन्दै तत्काल सो रकम उपलब्ध गराउन आग्रह गरेका छन्। कोच न्यौपाने भन्छन्, ‘अहिले त आयोजकसँग सम्पर्क पनि हुन छोडिसक्यो। सम्पर्क हुँदा पनि एक जना अर्का तिर देखाउने, अर्का अर्को तिर देखाउने काम भएको थियो।’

उनले झापामा फुटबलप्रति आम सरोकारवाला सचेत भएको बताउँदै रकम उपलब्ध गराइदिन आवश्यक पहल गरिदिन आग्रह गरे। विजेता, उपविजेता क्लबहरुले नगद पुरस्कार वापतको रकम नपाएपछि अखिल नेपाल फुटवल संघ (एन्फा) मा निवेदन दिएका थिए। त्रिभूवन आर्मी क्लबले निवेदन दिएपछि एन्फाले झापा जिल्ला फुटवल संघलाई पत्राचार समेत गरेको थियो।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा म्याच कमिश्नर भएको सो प्रतियोगिताको रकम उठाइदिन आर्मीले उनलाई पनि ताकेता गरेको थियो। मामाले पछिल्लो समय प्रहरीमा उजुरी दिनुपर्छ भन्दै आएका छन्। सो गोल्कपको ब्राण्ड एम्वेस्डर हरि खड्का थिए।

जायोन क्लबका तर्फबाट गोल्डकप आयोजना गर्न बिर्तामोडका भक्त खवास, मणि राई, दिपेन्द्र आछामी मुख्य भूमिकामा थिए। सो क्लबका कारण अन्य फुटबल प्रतियोगितालाई समेत गर्दै आएको छ।

प्रकाशित मिति: : 2022-03-14 12:38:00

प्रतिकृया दिनुहोस्