बर्सेनि २० वर्षभन्दा कम उमेरका ९ हजारले गराउँछन् गर्भपतन

सबैभन्दा धेरै बागमती प्रदेशमा

रातोपाटी

काठमाडौँ

नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तीमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । 

 

अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन पाइने प्रावधान छ । गएको तीन वर्षमा २० वर्षभन्दा कम उमेर समूहमा सुरक्षित गर्भपतन गराउनेहरुको आँकडा हेर्दा वार्षिक नौ हजार जनासम्मले गर्भपतन गराएको पाइएको छ । 

सुरक्षित गर्भपतन गराउने २० वर्षभन्दा कम उमेर समूहका सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । यस्तै, सबैभन्दा कम सुरक्षित गर्भपतन गर्ने वृद्ध समूह गरेका छन् । २०७४/७५ मा सुरक्षित गर्भपतन गराउने २० वर्ष भन्दा कम उमेरका ९ हजार ८६४ जना थिए । यस्तै २०७५/७६ मा ८ हजार १६० जनाले गर्भपतन गराएकोमा ७ हजार ९०८ जनाले सुरक्षित गर्भपतन गराएका थिए । यस्तै उल्लेखित तीन वर्षमा २० वर्षभन्दा कम उमेरका युवतीले क्रमशः १० प्रतिशत, ९ प्रतिशत, ९ प्रतिशतले सुरक्षित गर्भपतन गराएको सरकारी आँकडाले देखाउँछ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परिवार नियोजन तथा सुरक्षित गर्भपतन शाखाका प्रमुख नर्स सगुन थापाका अनुसार दैनिक १४ देखि १६ जनासम्मले सुरक्षित गर्भपतन गराउँछन् । जसमा २० वर्षभन्दा कम उमेरका दैनिक एक–दुई जना आइपुग्छन्  । महिनामा करिब ४ सय ८० जनाले सुरक्षित गर्भपतनको सेवा लिन्छन् भने तीमध्ये २० वर्षभन्दा कम उमेर समूहका १५ देखि १८ जनामा सुरक्षित गर्भपतनका लागि अस्पताल पुग्ने गर्छन् । 

प्रकाशित मिति: : 2022-03-22 12:24:00

प्रतिकृया दिनुहोस्