कर्फ्यु हटे संगै लेटाङको जनजीवन सामान्य, डर भने कायमै (तस्बिरहरू)

तस्बिरहरु: रबिन श्रेष्ठ/लेटाङ
तस्बिरहरु: रबिन श्रेष्ठ/लेटाङ

मोरङको लेटाङ नगरपालिकामा तीन दिनपछि कर्फ्यू हटाइएको छ। कर्फ्यू हटे संगै लेटाङको जनजीवन सामान्य बनेकाे छ।

बजारमा चहलपहल बढेको छ भने सवारी साधन निर्वाध रुपमा गुड्न थालेका छन्।

यद्यपि कर्फ्यू हटे पनि स्थानीयवासी भने त्रसित नै छन्। अझै पनि आक्रमण हुनसक्ने डर रहेको स्थानीयवासी बताउँछन्।

बिहीबार बिहान ६ बजेबाट लेटाङको ३, ४, ५ र ६ नम्बर वडामा लगाइएको कर्फ्यू हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन्।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने निर्णय गरेको थियो। स्थानीय बासिन्दाको आक्रमणमा परी चैत ६ गते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। त्यसपछि चैत ७ गतेदेखि लेटाङमा कर्फ्यू जारी गरिएको थियो।

गत शुक्रबार लेटाङको शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षकले १२ वर्षीया छात्रालाई दुर्व्यवहार गर्दा उत्पन्न परिस्थितिपछि मोरङ प्रशासनले सोमबारबाट अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो।

घटनाको छानबिन गर्न प्रहरीले प्रदेश १ को प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले बुधबारदेखि नै छानबिन सुरू गरेको छ।

यसैबीच, लेटाङ घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले बिहीबार थप २१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। यसअघि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको थियो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनामा संलग्नको नाम पछि सार्वजनिक गरिने बताए। अनुसन्धानका लागि नियन्त्रणमा लिएका केहीलाई दोषी नदेखिएपछि सम्पर्कमा रहने सर्तमा छाडेको छ। 

प्रकाशित मिति: : 2022-03-25 12:31:00

प्रतिकृया दिनुहोस्