जितका लागि नेपाललाई २९३ रनको लक्ष्य

File photo
File photo

चार्ल्स अमिनी र कप्तान असद भालाको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले  पहिलो एकदिवसीय खेलमा नेपालसामु जितका लागि २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङका लागि आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल तयार पार्‍यो।

२१ रन जोड्दा ओपन हिरी हिरीलाई गुमाएको पीएनजीको  इनिङ दोस्रो विकेटका लागि टोनी उरा र असद भालाले ४९ रनको साझेदारी गर्दै उकासेका थिए। उराले ४७ बलमा ६ चौका मद्दतमा ३८ रन जोडे ।

तेस्रो विकेटका लागि भाला र अमिनीले ७४ रनको साझेदारी गरेपछि पिएनजी सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।

भालाले ५५ बलमा ११ चौका मद्दतमा ६० रन जोड्दा अमिनीले एक सय तीन बलमा ६ चौका र एक छक्का मद्दतमा ७७ रन जोडे। अमिनीले रिले हकुरेसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए।

रिलेले ४० बलमा पाँच चौकाको मद्दतमा ३१ रन जोडे । त्यस्तै नोमार्न भानोउले ४७ रन जोडे।

नेपालका लागि सोमपाल कामी,कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट तथा पवन सराफ र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए। 
 

प्रकाशित मिति: : 2022-03-25 13:02:00

प्रतिकृया दिनुहोस्