युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ।
२९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाउन सक्यो। रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङमा खेले पनि नेपाल जितबाट टाढा रह्यो।
रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो। यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने।
उनले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए।
नेपालका आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमल सिंह ऐरीले समान १८ रन बनाउँदा भिम शार्कीले १७ रन बनाए।
पीएनजीका नोरमान भानुअले ३ विकेट लिए। यस्तै चार्ल्स अमिनी, असद भालाले समान २र२ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो।
पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले। यस्तै कप्तान असद भालाले ६० रनको योगदान गरे। ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१, नोरमान भानुअले ४७ रन बनाए ।
नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए। कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट हात पारे।
अब, नेपालले पीएनजीविरुद्ध भोलि शनिबार नै दोस्रो खेल खेल्नेछ।