जुम्लामा भित्रिँदै ब्राउन सुगर, प्रयाेगकर्ताकाे तथ्यांक डर लाग्दाे

चैत ६ गते चन्दननाथ नगरपालिका- २ का १८ वर्षीय धर्मेन्द्र भण्डारी खतरनाक लागुऔषध ब्राउन सुगरसहित प्रक्राउ परे। विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जुम्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले बताए।

प्रहरीका अनुसार भण्डारीको घरमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटाइएको प्रहरीको विशेष टोलीले प्रकाउ गरेको हो।

‘भण्डारीको शरीर र घर खानतलास गर्दा घरको माथिल्लो तलामा कापीको बीचमा पुरिया बनाई ब्राउन सुगर राखेको भेटिएको हो,’ डीएसपी चन्दले भने,‘उनले सुत्ने कोठाको भित्तामा सिल्भर रंगको जलेको अवस्थामा टिलटिले कागजको तीनवटा टुक्रा फेला परेको हो।’

उनकाअनुसार रितपुर्वक ब्राउन सुगर बरामद गरी भण्डारीलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

अहिले पनि राजधानी काठमाडौंमा ब्राउन सुगर फेला पार्नुलाई असामान्य केशको रुपमा लिइने गरेको भएपनि पछिल्लो समय जुम्लामा सामान्य बन्दै गएको छ।

जुम्लामा सडकको विकास र विस्तार भएसँगै लागुऔषध प्रयोगकर्ताहरुको संख्या गाउँ–गाउँमा बढेको प्रहरीले जनाएको छ। डीएसपी चन्दले थपे, ‘प्रहरीले १५ देखि २० वर्ष सम्मका युवायुवतीमा निगरानी बढाएको छ। पक्राउ पर्ने पनि यही उमेर समूहका बढी छन्।’

पछिल्लो पाँच वर्षको अवधिमा जुम्लामा २० वटा लागुऔषध विरुद्धको मुद्दा दर्ता भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बताइन्।

‘नागरिकको सहयोगविना प्रहरी एक्लैले जनशक्ति, स्रोत र साधन अभावबीच पनि कुनै पनि घटना न्यूनिकरण गर्न सक्दैन,’ उनले भनिन्,‘सबैको हातेमालो हुन सकेको खण्डमा लागुऔषध नियन्त्रण गर्न सकिनेछ।’

लागुऔषध प्रयोगकर्ताहरु पछिल्लो समय जुम्लामात्रै होइन समग्रमा कर्णालीमै बढेका छन्। कर्णालीका १० वटै जिल्ला लागुऔषध जोखिम रहेको बताइएको छ। रुकुम (पश्चिम) र जाजरकोटमा अवैध अफिम खेती हुने गरेको छ।

प्रदेश प्रहरीको तथ्यांक अनुसार आ.व २०७६/७७ कर्णालीका ७ जिल्लाबाट १ सय २३ जनालाई पक्राउ गरिएको र ६५ वटा मुद्दा दर्ता भएका छन्।

यस्तै आ.व ०७७/७८ मा १ सय ३६ जना पक्राउ र ७० वटा मुद्दा दर्ता भएका छन्। ०७८ देखि हालसम्म १ सय ३० जना पक्राउ र ३० वटा मुद्दा दर्ता भएका छन्।

जनशक्ति कम हँदा लागुऔषध नियन्त्रणमा कठिनाइ आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। हाल कर्णालीको लागुऔषध ब्यूरोमा छ जना मात्रै जनशक्ति छ।

तथापि, सिमित स्रोत साधनबीच मुद्दा दर्ता पक्राउ लगायतका परिणामुखी काममा ध्यान दिइएको प्रदेश प्रहरीले जनाएको छ।

जाजरकोट र रुकुम (पश्चिमा) भइरहेको अवैध अफिम खेती र भारतसँगको खुला सीमानाका कारण कर्णालीमा लागुऔषधको प्रयोग बढेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी गणेशबहादुर बमले बताए।

‘यो निकै डरलाग्दो तथ्यांक हो। बेलैमा प्रशस्त दक्ष जनशक्ति परिचालन गरेर नियन्त्रणको विषयमा ध्यान दिन नसकिएमा अवस्था जटिल आउन सक्छ,’ उनले भने,‘प्रयोगकर्तालाई लत छुटाउनको लागि हाल कर्णालीमा ५ वटा सुधार केन्द्र सञ्चालित छन्।’

कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागुऔषध रोकथाम गर्न सरकार प्रतिवद्ध रहेको बताए।

‘लागुऔषधविरुद्ध नीति निर्माण, युवा परिचालन, स्रोत साधनसहितको जनशक्ति व्यवस्थापन तथा सीमा नाकामा कडाइ गरिनेछ,’ उनले भने, ’चेतनामुलक कार्यक्रममा जोड दिएर यसलाई नियन्त्रण गर्नमा सरकार प्रतिवद्ध छ।’

लागुऔषधबाट बेलैमा युवालाई जोगाउन नसकेमा भविष्यमा ठूलो जनशक्तिलाई सुधारगृहमा राख्नुपर्ने अवस्था आउने गृह मन्त्रालयको लागुऔषध नियन्त्रण महाशाखाका उप–सचिव गोकर्ण प्रसाद उपाध्यायले बताए।

‘मुलुकका ७७ वटै जिल्ला लागुऔषधको कारोबार भइरहेको अवस्था छ। नेपालमा अफिम, कोकेन र गाँजा लगायतलाई लागुऔषधका रुपमा लिने गरिएको छ। लागुऔषध नियन्त्रण ऐन २०३३ छ,’ उनले भने,‘नेपालका ७१ प्रतिशत युवा यस्तो कुलतमा फसेको तथ्यांक छ। फसेका मध्ये ७० प्रतिशत बेरोजगार छन्।’

उनकाअनुसार यसलाई अन्त्य गर्न युवाका लागि नीति निर्माण, रोजगारको व्यवस्था र चेतनाको विकास गर्न जरुरी छ।

१९ देखि २५ वर्ष उमेरका युवायुवतीले धेरै प्रयोग गरिरहेको तथ्यांक छ। नेपालका २६ हजार कैदीमध्ये २१ प्रतिशत लागुऔषध कारोबारको कसुरमा सजाय भोगिरहेको उपाध्याय बताउँछन्।

हाल नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ। 

तीन तहका सरकारले लागुऔषध विरुद्धका कार्यक्रम नगरेमा २०३० सम्म नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या बढेर ४३ पुग्ने गृह मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

माग घटाउने, उपचार तथा पुर्नस्थापना, जोखिम न्यूनिकरण, सोध, विकास र सहकार्य साझेदारी, स्रोत परिचालन लगायतका कार्यक्रम गर्नुपर्ने उपाध्यायको मत छ।

‘हाल नेपालमा दुई सय सुधार गृह सञ्चालित छन्। जसले कुलतमा फसेका युवालाई परामर्श दिने गरिरहेका छन्,’ उनले भने,‘तर, सरकारी लगानीका एउटा पनि सुधारगृह छैनन्। यो विडम्बना हो।’

प्रकाशित मिति: : 2022-03-30 20:50:00

प्रतिकृया दिनुहोस्