मसँग जनताले गौरव गर्नेगरी ठूलीभेरी बनाउने आधार छन् : प्रेमबहादुर बोहोरा

Breaknlinks
Breaknlinks

डोल्पाको ठूलीभेरी नगरपालिका– ५ माझफाल गाउँका प्रेमबहादुर बोहोरा 'कोग्लो डोल्पाको युवाले चिहाएको संसार' पुस्तकका लेखक हुन्।

उनी हाल जनता समाजवादी पार्टीको राजनीति गरिरहेका छन्। निर्वाचन आयोगले वैशाख ३० गते घोषणा गरेको चुनावमा आफ्नो नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषाणा गरेका उनी यतिबेला जनताको बीचमा पुगिरहको देख्न सकिन्छ।

अन्य राजनीतिक पार्टीले उम्मेदवारको टुङ्गोसमेत लगाउन नसकेको बेला उनले पहिलो चरणको गाउँ भ्रमण सकाएका छन्। ठूलीभेरी नगरपालिकाका ११ वडाका २१ गाउँमा पुगेका उनले जनताका परिवर्तनको व्यग्र प्रतिक्षामा रहेको बताए।

'स्थानीय सरकार बुझेको, जनताको आवश्यकता महसुस गरेको, निष्पक्ष छवि निर्माण गरेको नेतृत्व स्थानीय सरकारमा आइदेओस् भन्ने जनताको चाहना छ,' उनले भने, 'उहाँहरुले यो पटक पार्टी होइन, व्यक्तिलाई हेर्नुपर्छ। गतिलो मान्छे भएन भने काम गर्दैन रहेछ भन्नुभएको छ। अब व्यवहारमा के गर्नुहुन्छ, हेर्न बाँकी नै छ।'

उनले जनताको माझ पुगिरहँदा धेरैले 'भर्खरको केटो, काम गर्न सक्छ' भन्ने व्याप्त प्रतिक्रिया पाएका छन्। त्यसमाथि क्याम्पस चिफसमेत बनिसकेका बौद्धिक र सालिन व्यक्तित्व लक्ष्मी नारायण न्यौपानेको प्रतिबिम्बको रुपमा उनलाई तुलना गरिदिँदा निकै खुसी छन्।

रुपचन्द्र विष्ट जतिका न्यौपानेले आफ्नो जीवनकालमा कुनै पनि चुनाव जितेनन्। आज गाउँघरका बाटो दोबाटोमा उनको पराजयको समिक्षा भइरहेको छ। 'उहाँ आफैँले मेरा कुरा गरिदिनु गौरवको विषय हो,' प्रेमबहादुरले भने, 'यसले पनि उत्साह थपेको छ।'

न्यौपानेले जीवनभर चुनाव जित्न नसक्दा घाटा उनलाई भएन, जनतालाई नै भयो। त्यसैले अहिले पढेलेखेका युवाहरु सक्षम युवालाई जिताउन पार्टी हेर्नुहुन्न भनिरहेका छन्।

ठूलीभेरीमा जसपाको संगठन प्रभाव पार्ने खालको छैन। तर जनताले 'पार्टी नहेरी व्यक्ति हेर्छाैं' भनेकाले प्रेमबहादुर आशावादी छन्।

उनले मेयरमा उम्मेदवारी दिएको नगरपालिकामा पाँच वर्ष अगाडि एमालेले जितेको थियो। तर मेयर माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा गए। राप्रपाबाट जितेका उपमेयर काँग्रेसमा गए।

चुनाव लड्ने जति सबैको वाचा थियो, 'अर्काेपालि चुनाव प्रचारमा आउँदा गाडी चडेर आउँछौं।' तर डोल्पालाई राष्ट्रिय राजमार्गले छुन सकेको छैन। हेलिकप्टर र फेरिबाट लगिएका जीपले बजारमा धुलो उडाउँछन्। जनता दुई खुट्टाले पाइला नापिरहेका छन्।

त्यसैले प्रेमबहादुरले तीनवटा सपना देखाएका छन्। एउटा ठूलीभेरीलाई सुगम बनाउने। जसमा शिक्षा, स्वास्थ, यातायातलगायत सुविधामा जनताको सहज पहुँच होस्।

दोस्रो, सुव्यवस्थित ठूलीभेरी बनाउने। जसमा प्राकृतिक स्रोत साधनको सदुपयोग, आयआर्जन, राज्यको लगानी व्यवस्थित गराउने र भएका स्रोत, साधनको प्रभावकारी परिचालन गर्नेलगायत छन् भने तेस्रोमा सु-सम्पन्न ठूलीभेरीको आधार निर्माण गर्ने छ। यसमा रोजगारी सिर्जना गर्ने, नगरपालिकाका आम्दानी बढाउनेलगायत छन्।

उनले देखेका सपना पूरा गर्न ठूलीभेरी सक्षम छ। तर सदियौंदेखि व्यवस्थापनको अभाव खड्किरहेको छ। 'प्राकृतिक स्रोत साधनको धनी ठूलीभेरी जलस्रोतमा सम्पन्न छ। यार्सागुम्बा पाइने माझफाल, थला, रहलगायत चारवटा पाटन छन्। वनजंगल, जडीबुटीको भण्डार हो,' उनले भने, 'यिनको प्रभावकारी परिचालन गरी रोजगारी सृजना गर्न सकिने देखेको छु। यसैबाट जनताको जीवनस्तरमा सुधार हुने हो।'

ठूलीभेरीमा २४ वटा स्कुल छन्। जसमध्ये चारवटा मात्रै माध्यमिक विद्यालय छन्। स्नातक तह पढाइ हुने डोल्पो बहुमुखी क्याम्पस पनि त्यहीँ पर्छ। तर पढाइ राम्रो हुन सकिरहेको छैन।

पैसा हुने डोल्पालीहरु एसईई पास गर्नेबित्तिकै सुर्खेत, नेपालगञ्ज, काठमाडौंमा जान्छन् तर अधिकांश कम आम्दानी हुनेहरुको उच्च शिक्षामा पहुँच पुग्न सकिरहेको छैन।

ठूलीभेरीमै जिल्ला अस्पताल पर्छ। दरबन्दीअनुसार डाक्टर आउन सकेका छैनन्। एमबीबीएस डाक्टर पनि सरकारी बोन्डअनुसार मात्रै आउने गरेका छन्। विशेषज्ञ डाक्टरको सेवा नपाएका डोल्पालीको आयु निकै कम छ भने अल्पायुमा निधन हुनेको संख्या गनिसाध्य छैन।

स्वास्थ्य चौकीको अवस्था बिजोक छ। यी नै विकटताका बिम्ब हुन्। यसमा प्रेमबहादुरको मत छ, 'जबसम्म जनस्वास्थ्यमा राम्रो लगानी हुन सक्दैन, तबसम्म डोल्पा सुगम हुँदैन। त्यसैले तयारी आज थालेनौं भने आउँदो एक शताब्दी अझ पछाडि धकेलिनेमा दुईमत छैन।'

पुराना जनप्रतिनिधिले जनतासँग गरेको बाचाहरु पूरा गर्न नसक्नुले नै उनीजस्ता युवाहरुले चुनौतीको मौदानमा अवसरको खोजी गर्नुपरेको छ।निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनजस्ता सम्भावना भएका क्षेत्रमा हात नहालेकै कारण उनी चुनावमा होमिनु परेको हो।

त्यसैले उनी गर्न सकिने कामका लागि मात्रै जनतासँग बाचा गर्न तयार रहेको बताउँछन्। उनले भने, 'मैले प्रतिवद्धता कम गरेको छु। ती सबै पूरा गर्न सकिने खालका छन्। गर्नै पर्ने र गर्न सकिने मुद्दा मात्रै अगाडि सारेको छु।'

स्कुलमा के गर्ने ? अस्पताल कस्तो गर्ने ? पाँच वर्षका ६० महिनामा कम्तिमा ३० वटा काम गरेर देखाउन सकिने उनको मत छ। जसले पछाडि आउने प्रतिनिधिलाई समेत बाटो देखाउनेछ।

'धेरै ठूलो कुरा गर्नेभन्दा पनि जनताको जीवनस्तर बदलियोस् भन्ने चाहना हो। पूरा काम गर्नका लागि त पाँच वर्ष पनि निकै छोटो समय हो,' उनले थपे, 'यो अवधिमा जनताले स्थानीय सरकारले गर्ने काम यस्ता हुन्छन् भनेर देखाउन सकिन्छ। जसले एउटा आधार निर्माण गर्न सक्छ भन्ने आत्मविश्वासका साथ चुनावमा होमिएको हुँ।'

उनले आफूले जिम्मेवारी सम्हाल्ने अवसर पाएको खण्डमा जनता पछुताउनु नपर्ने बताए। 'संसारको महँगो खाद्य सामग्री खानुपर्ने, संसारको महँगो हवाइ यात्रा गर्नुपर्ने तर कमाई भने संसारकै कम हुने हामी डोल्पाली कस्तो अवस्थामा छौं भनेर भनिरहनु परेन,' उनले भने।

यिनै यथार्थ ठूलीभेरीलाई दुर्गमताको परिचय दिन काफी छन्। त्यसैले प्रेमबहादुर ठूलीभेरीलाई सुगम, सुसम्पन्न र सुव्यवस्थित बनाउने नारा लिएर जनतामा आशा जगाइरहेका छन्।

प्रकाशित मिति: : 2022-04-07 19:19:00

प्रतिकृया दिनुहोस्