अघिल्लो स्थानीय तहको मत परिणामले भन्छ- पासा जता पनि पल्टिन सक्छ

Breaknlinks
Breaknlinks

जुम्लामा एक नगरपालिकासहित आठ वटा स्थानीय तह छन्। ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले चार वटा पालिकाको प्रमुखमा जितेको थियो भने दुई वटामा उपप्रमुख।

त्यस्तै नेकपा माओवादी केन्द्रले तीन वटा पालिकामा प्रमुख र चार वटामा उपप्रमुख जित्दा नेकपा एमालेले एउटा पालिकामा प्रमुख र दुई वटामा उपप्रमुख जितेको थियो।

यो मत परिमाण देखाएर हाल सत्ता गठबन्धनमा रहेका दलहरु चुनावमा सँगै जाने निहुँमा भाग जसरी पनि आफ्नोतिर बढाउन खोजिरहेका छन्।

तथापि वैशाख ३० गते हुने निर्वाचनमा केन्द्रको निर्णयअनुसार गठबन्धन गर्ने भनी पालिकाको वडादेखि प्रमुख, उपप्रमुखसम्मको भागबण्डा गर्न बसेका बैठकहरुले शून्य हात लगाएका छन्। जसले गठबन्धनको सम्भावना लगभग सकिन आँटेको छ।

निर्वाचन स्थानीय तहको भएपनि स्वायत्तता र विकेन्द्रीकरणको खिल्ली उडाउँदै दलका केन्द्रहरु एकतर्फी निर्णय मान्न दबाब दिइरहेका छन्।अघिल्लो पटक जुन पालिकामा जसले निर्वाचन जितेको थियो, उसैले यो पटक पनि उक्त पालिकामा भाग पाउने गणित मिलाउन केन्द्रीय चलखेल भइरहेको छ।

जुम्लामा २०७४ को स्थानीय तहको निर्वाचनलाई आधार मानि ठुलो भाग खोजिरहेका कांग्रेस र माओवादीलाई नयाँ दलका रुपमा नेकपा एमालेबाट फाटेको माधव नेपाल समूह (एकीकृत समाजवादी) ले पनि जिल्लामा आफ्नो जनाधार रहेको दाबी गर्दा गठबन्धनका दलहरुलाई भागबण्डा मिलाउन सकस परिरहेको छ। परिणाम दलहरुबीचको दूरी बढ्दै गएको छ।

माओवादी केन्द्र र कांग्रेस आफूले मात्रै भाग खोजेपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको छ। एकीकृत समाजवादी जुम्लाका अध्यक्ष तीर्थ बुढाले माओवादी र कांग्रेसले हैसियतभन्दा बढ्ता माग गरेकाले कुरा नमिलेको बताए।

‘भागबण्डाको कुरामा हामीलाई एउटामा मात्र सीमित राख्ने उहाँहरुको लक्ष्य छ,’ उनले भने, ‘हामी त्यो मान्दैनौँ, बरु सिंगल लड्ने हो।’

उनले एक्लाएक्लै लडेको खण्डमा एकीकृत समाजवादीले दुई स्थानीय तह जित्ने दाबी गरे। उनले थपे, ‘हामीले कांग्रेस/माओवादीले तीन–तीन र हामीलाई दुई स्थानीय तह दिनुस् भन्दा उहाँहरुले मान्नुभएन।’

नेपाली कांग्रेस जुम्लाका नेता एवं पूर्वमन्त्री दीनबन्धु श्रेष्ठले पनि गठबन्धनमा कुरा नमिलेको बताए। ‘अझै छलफल टुंगिएको छैन। भागबण्डामै समस्या भयो,’ उनले भने, ‘छलफल तथा बहसले सकारात्मक बाटो पहिल्याउने अपेक्षा गरिएको थियो। अब त त्यो पनि न्यून बन्दै गएको छ।’

सम्मानजनक सहभागिता नभएको भनी एकीकृत समाजवादी छलफलमा बस्न नमानेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरको आरोप छ।

‘गठबन्धनभित्रको छलफल टुङ्गिएको छैन। तर अहिले समाजवादी पार्टी बैठकमै बस्न मानेको छैन,’ उनले भने, ‘समाजवादीका नेतारु पार्टीलाई सम्मानजनक हैसियत दिइन भन्दै गठबन्धनको बैठकबाट बाहिरिनु भएको हो।’

तर, गठबन्धनका दलहरुले दाबी गरेजस्तो २०७४ काे मत परिणमाले देखाउँदैन भने हालको संगठनात्मक स्थितिमा पनि व्यापक फेरबदल आएको देखिन्छ। यसका लागि जिल्लाका आठ वटै स्थानीय तहको मत परिणामबारे छोटो समिक्षा गरौं।

चन्दननाथ नगरपालिका

जिल्लाको एउटामात्र नगरपालिका चन्दननाथमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल विजयी भएकी थिइन्। उनले दुई हजार आठ सय ६ लोकप्रिय मत ल्याउँदा नगर प्रमुखमा एमालेका शान्तिलाल महतले दुई हजार ६६ र माओवादीका अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरेका थिए।

तर, उपप्रमुख भने माओवादी केन्द्रकी अप्सरादेवी न्यौपाने (महत) ले दुई हजार १८ मत ल्याएर निर्वाचित भएकी थिइन्। यस्तै, नेपाली कांग्रेसका जगतबहादुर खत्रीले एक हजार सात सय ७४ मत, एमालेका मेनुका रेग्मी (चौलागाई)ले एक हजार सात सय १०, नेमकिपाका धनञ्जय फडेराले पाँच सय ७४ मत प्राप्त गरेका थिए।

यो पाँच वर्षको अवधिमा नगरपालिकामा कुनै पनि पार्टीको संगठनमा व्यापक फेरबदल आएको छैन भने एमाले विभाजन हुँदा बनेको एकीकृत समाजवादीका मतदाता बाँढिएका छन्। नगरपालिकामा तुलनात्मक रुपमा कांग्रेसको संगठन बलियो मानिन्छ।

कनकासुन्दरी गाउँपालिका

कनकासुन्दरीमा कांग्रेसको संगठन आज पनि बलियो मानिन्छ। २०७४ को निर्वाचनमा कांग्रेसका नरवीर रावतले दुई हजार एक सय १३ मत ल्याइ अध्यक्ष पदमा विजयी भएका थिए भने माओवादीका राजजंग हमालले एक हजार आठ सय चार ४ र एमालेका गोपाल रोकायाले एक हजार तीन सय ५० मत ल्याएका थिए।

उपाध्यक्षमा पनि कांग्रेसकै उर्मिला खत्रीले एक हजार नौ सय ४१ मत ल्याएर निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रकी मिमसरा रानाले एक हजार चार सय ३१ र एमालेकी सुशीला बडुवालले एक हजार सात मत ल्याएकी थिइन्।

गुठीचौर गाउँपालिका

गुठीचौर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी विजयी भएको थियो।

माओवादीका हरिबहादुर भण्डारीले एक हजार पाँच सय ९६ मतसहित निर्वाचित हुँदा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार चार सय ६७ र कांग्रेसका दानबहादुर बुढाले ६ सय ७९ मत ल्याएका थिए।

उपाध्यक्षमा माओवादीकी जानदेवी ऐडीले एक हजार पाँच सय ८५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी धनरूपा बुढाले एक हजार तीन सय ६५ र कांग्रेसकी सुमन बुढा बस्नेतले पाँच सय ३७ मत प्राप्त गरेकी थिइन्।

हाल यो गाउँपालिकामा एमाले कमजोर देखिन्छ भने समाजवादीको बलियो उपस्थिति छ। समाजवादीले जित्ने दाबी गरिरहँदा कांग्रेसका दान बहादुर बुढा गठबन्धन नभएको खण्डमा आफू जित्ने ठोकुवा गरिरहेका छन्।

तातोपानी गाउँपालिका

तातोपानी माओवादीको संगठन राम्रो भएको पालिका मानिन्छ। अघिल्लो निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादीले नै विजय हासिल गरेको थियो भने वडामा पनि उसैको पकड थियो।

गाउँपालिकाको अध्यक्षमा माओवादीका नवराज न्यौपाने दुई हजार तीन सय ९१ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुरतबहादुर शाहीले दुई हजार ७० मत पाएका थिए।

उपाध्यक्षमा माओवादीकी गंगादेवी उपाध्यायले एक हजार नौ सय ६४ मत ल्याएर निर्वाचित हुँदा एमालेकी नारायणी चौलागाईंले एक हजार नौ सय ६, कांग्रेसका कर्ण कठायतले आठ सय ८१ मत ल्याएका थिए।

तातोपानीमा तत्कालीन नयाँ शक्ति पार्टी र नेमकिपाको पनि संगठानिक उपस्थिति रहेको छ।

तिला गाउँपालिका

तिलामा माओवादीले आफ्नो संगठन बलियो भनेपनि गाउँपालिकाको अध्यक्षमा एमालेका युवा नेता रतननाथ योगी एक हजार सात सय ६८ मत ल्याएर झिनो मतान्तरसहित निर्वाचित भएका थिए। 

माओवादीका जंगबहादुर बस्नेतले एक हजार सात सय ४४ र कांग्रेसका कल्से रावतले एक हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा भने माओवादीकी विष्णु बुढा एक हजार सात सय ७४ मतसहित निर्वाचित हुँदा एमालेकी विष्णुकली रावतले एक हजार ६ सय १३ र कांग्रेसकी डिल्लीकुमारी हमालले एक हजार ६ सय तीन मत ल्याएकी थिइन्।

यहाँ नेमकिपा चौथो स्थानमा छ भने कांग्रेसको संगठन प्रतिस्पर्धी मानिन्छ।

पातारासी गाउँपालिका

पातारासीमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको थियो।

अध्यक्षमा कांग्रेसका लक्षीमान बोहरा दुई हजार तीन सय ११ मत ल्याएर निर्वाचित हुँदा माओवादीका गौरी बुढाले एक हजार नौ सय २२ र एमालेका हंसबहादुर रोकायले पाँच सय ७० मत मात्र प्राप्त गरेका थिए।

उपाध्यक्षमा पुन्नकली महतराले दुई हजार सात मत प्राप्त गरेर विजयी हुँदा माओवादी केन्द्रकी जनमाया रोकायाले एक हजार आठ सय ५५ मत र एमालेकी रम्बा भण्डारीले आठ सय ६७ मत प्राप्त गरेकी थिइन्।

पातारासी कांग्रेसको संगठन स्थिर भएको क्षेत्र हो।

सिंजा गाउँपालिका

सिंजामा अध्यक्ष कांग्रेसले जितेको थियो भने उपाध्यक्ष एमालेले जितेको थियो।

अध्यक्षमा कांग्रेसका देवलसिंह रावल एक हजार चार सय ३० मत ल्याएर निर्वाचित हुँदा नेमकिपाका पूर्ण धितालले एक हजार दुई सय तीन, माओवादी केन्द्रका हिम्मत खत्रीले एक हजार एक सय ६३ र एमालेका नन्दराम रोकायाले एक हजार एक सय ४० मत ल्याएका थिए।

चुवानको हारलगत्तै धिताल माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन्।

उपाध्यक्षमा एमालेकी जन्मकन्या खत्रीले एक हजार पाँच सय चार मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी रजकन्या शाहीले एक हजार एक सय ६५, माओवादीकी सितली रोकायाले एक हजार एक सय ४५ र नेमकिपाकी कृष्णमाया शाहीले आठ सय ७९ मत प्राप्त गरेका थिए।

सिंजाका छ वटा वडामध्ये नेमकिपाकाले दुई वडा जितेको थियो। कसैलाई जिताउन र हराउनको लागि नेमकिपाको मत निर्णायक छ।

हिमा गाउँपालिका

हिमाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका रज बहादुर शाही तीन भोटले मात्रै विजयी भएका थिए। शाहीले एक हजार तीन सय १७ मत ल्याएर निर्वाचित हुँदा एमालेका भैबहादुर रोकायाले एक हजार तीन सय १४ मत ल्याएका थिए।

अध्यक्षमै कांग्रेसका लक्ष्मणबहादुर शाहीले एक हजार दुई सय २२ मत पाएका थिए।

उपाध्यक्षमा पनि माओवादीकै हिमाली रोकायाले एक हजार तीन सय २७ मत ल्याएर निर्वाचित हुँदा एमालेकी चुक्की शाही एक हजार एक सय ८५, कांग्रेसकी सुर्पना शाहीले एक हजार एक सय २५ र नेमकिपाका विर्षबहादुर रावतले दुई सय ६६ मत ल्याएका थिए।

हिमामा एमालेभन्दा समाजवादीको संगठन बलियो मानिन्छ।

जुम्लाका आठ वटै स्थानीय तहको अघिल्लो निर्वाचनको मत परिणामले आधाभन्दा बढीमा पार्टीभन्दा पनि व्यक्तिको व्यक्तित्वले असर पारेको देखिन्छ। प्रमुख र उपप्रमुख एउटै पार्टीले जितेको पालिकामा पनि प्रतिद्वन्द्वी पार्टीको मतान्तर झिनो छ।

त्यसैले, पुरानो मत देखाएर हालको निर्वाचन जित्ने वा नजित्ने आँकडा गलत सावित हुने सम्भावना बड्ता छ भने यसैको आधारमा गरिने बार्गेनिङले प्रजातान्त्रिक मान्यताको अवमूल्यन गरेको देखिन्छ।

यो अवधिमा तिला, जवा र हिमा नदीहरुमा धेरै पानी बगिसकेको छ। कांग्रेसकाे झण्डा फहराइरहेको घरबाट चारतारे झण्डै उखेलिएर हँसिया हतौडा फहराइरहेको छ भने त्यसैको विपरीत हँसिया हथौडा मिल्काएर चारतारे झण्डै र रुख फहराइरहेको छ। यही पाँच वर्षे अवधिमा कतिले कांग्रेसको गम्छा ओडेका छन् भने कतिले हँसिया हथौडा उठाएका छन्। त्यसैले पासा जता पनि पल्टिन सक्छ।

प्रकाशित मिति: : 2022-04-19 19:56:00

प्रतिकृया दिनुहोस्