'मेरो पक्षमा जनताको माहोल भएकाले निर्विरोध निर्वाचित भएँ'

हिमाल खबर

अनिता भेटवाल

निर्विरोध निर्वाचित हुने अवस्था कसरी आयो? 
निर्वाचन आयोगले वैशाख ११ र १२ लाई उम्मेदवारी दर्ताको समय तोकेको थियो। मैले ११ गते दर्ता गराएँ। हिजो (सोमबार) साँझ ४ः३० सम्म पनि नेकपा (माओवादी केन्द्र) का पेमाडोल्मा गुरुङ मेरो प्रतिद्वन्द्वी हुनुहुन्थ्यो। तर, पछि उहाँले के सोच्नुभयो कुन्नि, उम्मेदवारी दर्ता गराउनुभएन। साँझ पाँच बजेसम्म अन्य उम्मेदवारी नपरेपछि म निर्विरोध निर्वाचित भएको जानकारी निर्वाचन अधिकृतले दिनुभयो। पहिलेबाटै मेरो पक्षमा माहोल थियो, मप्रति धेरैको विश्वास थियो। पछिल्लो पाँच वर्ष उपाध्यक्षको हैसियतले राम्रो काम गरेको परिणाम पनि होला। उम्मेदवारी दिन चाहेर पनि विभिन्न कारणले अन्त्यमा मैदानमा नआउने साथीहरूलाई मेरो सम्मान छ। भोलि काम गर्ने सँगसँगै नै हो।

निर्विरोध निर्वाचित हुनुका फाइदा के के रहेछन्?
पहिलो फाइदा त जनताले चुनेको प्रमाण पाएँ। जनताले मलाई चुनेको भएरै विपक्षीले दाबेदारी नदिएका हुन सक्छन्। सबैभन्दा ठूलो फाइदा चाहिं, निर्वाचित भएपछि गर्नुपर्ने कामहरूको तयारी आजैबाट गर्न पाउने भएँ। अरूले निर्वाचित भएर तयारी थाल्दा मैले काम नै शुरू गर्न पाउने भएँ। शे–फोक्सुण्डो क्षेत्रको विकासका लागि आवश्यक अजेन्डाबारे विज्ञहरूसँग छलफल थालिसकेको छु।

त्यस्तै, अर्को फाइदा भनेको खर्च लगभग भएन भन्दा पनि हुन्छ। दुई/चार दिन हिंडडुल गर्दा गाडी खर्च, साथीभाइसँगको चिया खर्च र हिंडडुलको क्रममा देखेको बिग्रेको बाटोको तत्काल मर्मतसम्भारका लागि दशदेखि १५ हजार सहयोग गरें। यति गर्दा लगभग दुई लाख खर्च भयो। निर्वाचनमा उम्मेदवारले लाखौंलाख खर्च गरेको भन्छन्, तर मलाई त्यस्तो मार पर्ने भएन। यसमा खुशी छु।
 

प्रकाशित मिति: : 2022-04-26 18:30:00

प्रतिकृया दिनुहोस्