राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको २४ औं संस्करणको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ।
दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुँदै छ।
प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।
यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन्। पुरुष/महिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिने छ।
पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो। एक–एक पुरुष/महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन्।