माेरङकाे उर्लाबारीमा निवर्तमान नगर प्रमुख खड्ग फागो र गङ्गा खरेलबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ। फागो कांग्रेसको तर्फबाट उम्मेद्वार छन् भने खरेल नेकपा (एमाले)बाट उमेदवार बनेका छन्। उर्लाबारीमा मेयरका थुप्रै उम्मेद्वार भएपनि यतिबेला फागो र खरेलको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
को हुन् खरेल ?
झापाको शनिश्चरेमा जन्मिएका ६३ वर्षीय खरेल राजनीतिक, सामाजिक ,धार्मिक र सांस्कृतिक रुपमा ‘क्लिन चिट’ नेता हुन्। उर्लाबारी क्षेत्रमा मात्र होइन, छिमेकी जिल्लाहरूका सामूदायिक भवन, विद्यालय, धार्मिक मठ मन्दिरका हरेक भित्तामा उनको उपस्थिति देख्न सकिन्छ। सत्कर्ममा विश्वास गर्ने खरेल राजनीतिलाई कमाउने धन्दाका रुपमा नलिने प्रतिवद्धता व्यक्त गर्छन्।
उनले भने,‘भोलि राजनीतिमा आउँला भनेर विगतमा सामाजिक काम गरेको थिइन। तर, पार्टीले जिम्मेवारी दियो, पछि हट्न मिलेन।’
आर्थिक उपार्जनका स्रोतहरूको खोजी गर्ने क्रममा उनी २०२५ सालमा उर्लाबारी बसाइँ सरी आए। बाल्यकालमा राम्रो आर्थिक प्रबन्ध भएपनि जतिबेला उनले पैसाको महत्व बुझन थाले त्यतिबेला आर्थिक ब्यबस्था बिग्रिसकेको थियो। त्यसबेला उर्लाबारीमा एक हजार जुटाएर जग्गा किन्ने सपना बुन्दा बुन्दै खरेलकाे सपना पानीको फाेका झैं फुट्याे।
त्यसैले उनले कानून पढेर आफू र आफ्नो परिवारलाई न्याय दिलाउने सुर कसे। कानून पढ्न बिराटनगरका पुगेका खरेलले कानून पढेर पनि न्याय प्राप्त गर्ने सिंढी पहिल्याउन सकेनन। अन्याय परेकालाई न्याय दिनुपर्छ भन्ने वकिलहरू खराब। उनीहरूको फर्म नै नचल्ने। जसले ज्यानमारा, गुण्डा, फटाहा र तस्करलाई निस्कलङ्कित प्रमाणित गर्छ उही वकिल बिकाउ र टिकाउ पनि, त्यस्तैले मालामाल पैसा कमाउने। २ वर्षसम्म कानून र वकीलको दैनिकी पढेपछि उनी नयाँ सम्भावनाको खोजिमा काठमाडौं हानिए।
कम्युनिष्ट कसरी भए ?
२०३२ सालतिर खरेल सङ्कल्प गीती कार्यक्रमसँग जोडिए। जहाँ उनको भेट जनवादी गायक जेवी टुहुरे, मन्जुल, शम्भु राईसँग भयो। उसबेला कम्युनिस्ट पार्टीको संगठन गीत सङ्गीतले गर्थ्यो। गीत गाउँदै उनी कहिले लेटाङ पुग्थे, कहिले केराबारीमा हुन्थ्ये भने कहिले सिंहदेवी, टाँढी पुगेका हुन्थे। संकल्प गीती कार्यक्रमको आफ्नै नियम थियो। राजनीतिक रुपमा नखुले पनि गीति कार्यक्रमको मिसन बहुदलीय ब्यवस्था प्राप्ति थियो। कार्यक्रममा हिँड्दा आफै पकाउनुपर्ने, आफ्ना भाडा वर्तन र लुगाहरू आफैं धुनुपर्ने पखाल्नुपर्ने। आमा, दिदी बहिनीहरूलाई आदर गर्नुपर्ने। पाकाहरूको आशिर्वाद लिएर घरबाट निस्कनुपर्ने। साना नानीबाबुहरूलाई स्नेह गर्नुपर्ने। त्यसबेला सिकेको नैतिक शिक्षा आज पनि उनले अक्षरस पालन गरेका छन्। त्यही सङ्गतमा लाग्दा लाग्दै उनी कम्युनिष्ट भएको उनले आफै थाहा पाएनन्।
के–के छन् खरेलका चुनावी एजेण्डा ?
सकुम्बासीको नाममा राजनीति भएको वर्षौं भयो। राज्यले केही काम पनि सुरु गरेको छ। त्यो कामलाई निरन्तरता दिएर उर्लाबारीलाई सुकुम्बासी मुक्त नगर बनाउने खरेलको सङ्कल्प छ। उर्लाबारीको दुख भनेकै मावा र बक्राहाको पीडा हो। यि दुबै खोलाका किनारमा स्थायी बाँध निर्माण गरी बायोइन्जिनियरिङ गर्ने खरेल बताउँछन्। मावाको पश्चिमतर्फ बायो इन्जिनियरिङ सहितको तटबन्ध गरी त्यहाँ सडक निर्माण गरेर ट्याक्टर, ट्रिफर र ट्रक गुड्न प्रबन्ध मिलाइने छ। जसले गर्दा उर्लाबारी मधुमल्ला सडकमा दुर्घटनाको जोखिम घट्ने छ। त्यस्तै बक्राहाले पूर्व पश्चिम नै दुख दिन्छ। क्रमागत रुपमा बक्राहा खोलाको दुबै तर्फ बायोइन्जिनियरिङसहित तटबन्ध गरिनेछ।
खाेला किनारमा बगर खेतीकाे प्रबन्ध मिलाईने छ। जसले १ सय बढीलाई राेजगार दिनेछ। उर्लाबारी–मधुमल्ला –रवि सडकको टिठ लाग्दो कथा सधैंका लागि अन्त्य गर्ने खरेलको योजना छ। चुनाव आउन लागेका बेला काम गरे जस्तो गर्ने अनि अरु बेला चुपचाप बस्ने नेताहरूकाे बानीसँग खरेल हारिसकेका छन्।
‘अब यो सडक चुनाबी एजेण्डा बन्दैन। मदन भण्डारी ट्रमा सेन्टरलाई २ सय शैयाको बनाउने महत्वकांक्षी योजना छ। पूर्वाधार सम्पन्न बनाएर ८/९ जना विशेषज्ञ चिकित्सक ल्याउने हो भने हाम्रो समस्या स्थायी रुपमा समाधान हुन्छ,’ उनले भने।
बिगतका ४ वर्ष नगरले विपन्नलाई नि:शुल्क बीमा गरेको देखिएन। तर, चुनावी वर्षमा नि:शुल्क बीमाका प्याकेज आएको देखिरहेको छु। हामी चुनाब जितेर आएपछि दलीय कोट खोलेर नगरपालिका जान्छौं। कुन दलले कुन चिन्हमा भोट लगायो। मेरो बिरुद्ध वा समर्थनमा को हिड्यो त्यो सरकोकारको विषय हुने छैन्। नगरको कार्यविधिले सम्बोधन गर्न सक्ने सेवा सुबिधा सबै नगरबासीले पाउने छन्। नगरको बार्षिक वजेट खर्च गर्न चुनाब पर्खिनु पर्ने छैन।
काम गर्नेलाई चुनाब चाहिदैन भन्ने मान्यता राख्ने खरेल सरकारी बिद्यालयको स्तर बृद्धिका लागि शिक्षकहरूलाई तालिम र समयसापेक्ष प्रविधि प्रदान गर्ने बताउँछन्। कम्तीमा एउटा वडामा एउटा स्मार्ट स्कुल र इलाइब्रेरीको ब्यवस्था गरिने छ।उर्लाबारी नगरपालिकामा भएका कालो पत्रे सडकको गुणस्तर प्रति खरेल सन्तुष्ट छैनन्। १/२ वर्षमा भत्किने पीच जनताको आँखामा छारो हाल्ने काम मात्रै हो। उनले भने – निर्माण कम्पनीले ५ वर्ष ग्यारेन्टी गर्दैन भने त्यो कम्पनीसँग निर्माण सम्झौता हुँदैन।
इन्जिनियरले कति लागतमा कालोपत्रे सडक ५ वर्ष टिक्न सक्ने सुझाव दिन्छन् , सोही अनुसार बजेट बिनियोजन गर्ने उनको भनाई छ। उर्लाबारीका दक्षिणी वडाहरू अन्न भण्डारहरू हुन्। त्यहाँको माटो परीक्षण गराएर धान, मकै , गहुँ, आलु, तरकारीका लागि बेग्ला बेग्लै जोन तयार गरिने छ। कृषि उत्पादन भण्डारणका लागि पहिलो वर्ष नै शीत भण्डार निर्माण गरिने छ। खेत खेतमा पानी पु¥याउँन किसानसँग मेयर कार्यक्रम सञ्चालन गरिने छ। जसले गर्दा सिंचाई नपुगेका क्षेत्रमा भूमिगत स्रोतबाट बोरिङ सञ्चालन गरि पानी निकालिने छ। कृषि हाट बजारहरूको अवस्था हेर्दा आँखाबाट आँशु आउने अवस्था छ।