अघिल्लो कार्यकालका अधुरा काम पूरा गर्छु : हिमबहादुर गुरुङ (अन्तर्वार्ता)

भन्नै पर्दैन, अन्नपूर्ण पदमार्ग विश्वकै चर्चित पदमार्ग हो। छोटो र साहसिक पदमार्ग अन्नपूर्ण यतिबेला चुनावी माहोलले तातेको छ।

अन्नपूर्ण गाउँपालिका– ११ को छोम्रोङ, घान्द्रुकमा चुनावी घरदैलो र आमसभा चलिरहेको छ। ०७४ सालको चुनावमा वडाध्यक्ष्य चुनिएका नेकपा (एमाले)बाट हिमबहादुर गुरुङ पुन: वडाध्यक्ष पदका प्रत्याशी छन्। कास्कीको हिमाली भेग, भूगोलले विकट वडाका प्रत्याशीसँग हामीले केही सबाल जवाफ गरेका छौं:


नेतृत्वमा आउन चाहने अरु पनि थिए होला, तपाईं नै किन दोहोरिने इच्छा राख्नु भयो ?

मैले ६ महिनाअघि नै साथीहरु तयार हुनु भनेर भनेको थिएँ। सबै टिमले फेरि एक कार्यकाल तपाईंको अधुरा काम पूरा गर्न पनि तपाईं दोहोरिनुपर्छ भन्नु भो। तपाईंको कार्यकालमा धेरै राम्रा काम भए। यसलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरु आए। तपाईंको कार्यकालमा धेरै बजेट ल्याउनुभयो। तपाईं माफर्त नै अझैं धेरै काम हुन्छ। गर्न बाँकी अधुरा काम पूरा हुन सक्छ भन्नुभयो।

फेरि, अरु साथीहरु तयार पनि हुनुभएन। पार्टी कमिटीले मलाई नै अघि सार्‍यो। सबैको आशा बोकेर म फेरि चुनावमा होमिएँ।

त्यस्तो उल्लेखनीय के–के काम गर्नु भएको छ, पुन: कार्यकाल दोहोरिने गरी ?

धेरै काम भएका छन्। गर्न बाँकी काम पनि छन्। मेरो कार्यकालमा नयाँ पुल, बिरेठाँटी, घान्द्रुक, उरि कालोपत्रेका लागि प्रदेश सरकारको रातो किताबमा पार्न सफल भयौं। प्रदेश सरकारले छुटाएर पनि १० किमी कालोपत्रे भयो। त्यसलाई अब थप्नुपर्ने छ। पहिले पृथ्वीसुब्बा गुरुङज्यूको पालमा परेको बजेट हो। अहिले कांग्रेसको सरकार छ। उहाँहरुले के गर्नु हुन्छ। त्यो हेर्न बाँकी छ।

अन्नपूर्ण– ११ दुर्गम वडा हो, यहाँलाई थाहा नै छ। यहाँ सञ्चार, विद्युत, सडकको असुविधा छ। मेरै कार्यकालमा केन्द्रीय लाइन घान्द्रुकमा जोडिएको छ। टेलिकम सबै ठाउँमा टेलिकम सञ्चार माध्यम पुगेको छ।

अहिले छोम्रोङ बाहेकका ठाउँमा टोल–टोलमा मोटर बाटो पुगेको छ। खानेपानी पनि एक घर एक धारा सबै जसो घरमा पुर्‍याएका छौं। केही बाँकी छ। पर्यटनका क्षेत्रमा पनि धेरै काम भएका छन्। पदमार्गमा सिढी बनाउने काम पनि अन्तिम अन्तिम चरणमा छ।

कामहरु धेरै भए। तर, भूगोलका कारण चाहे जति काम पूरा गर्न सकेनौं। बाँकी नै छ। भूगोलकै हिसाबले अन्नपूर्ण १ देखि १० सम्मको भूगोल र ११ को भूगोल बराबरी छ। एकदम फैलिएको तर सुविधा नभएको। पर्यटकीय क्षेत्र भएकाले जति बजेट ल्याए पनि नदेखिने भयो। प्रदेश, संघ गाउँपालिकाबाट ल्याएर बजेट धेरै नै ल्याएका छौं।

अब निर्वाचित हुनुभयो भने नयाँ के काम गर्ने सोच राख्नु भएको छ ?

थुप्रै काम गर्न बाँकी छ। पहिला त तिनै काम पूरा गर्ने सोचेको छु। अन्नपूर्ण पदमार्ग अन्तर्गत हिंकु केभ र देउराली बिचमा ठूलो खोला छ। त्यहाँ हिम पहिरो खस्ने बर्खाको बेला तर्न मुश्किल हुने। एकदमै खतरा छ। त्यहाँ पुलको आवश्यकता छ। त्यसको लागि डिपिआर पनि भइसकेको छ। लगभग पुन: निर्वाचित भयो भने, जनताले निर्वाचित गरायो भने त्यो पहिला सम्पन्न गर्छु।

हामी ट्रेकिङका लागि ख्याति कमाएका छौं। मोटरबाटो जोड्दा ट्रेकहरु पनि मासिएका छन्। मोटरबाटो पनि चाहिने त हो। अब फेरि टाडापानी, लुम्ले, हिँडन लेक, पोरे हुँदै छोम्रोङ झर्ने नयाँ ट्रेकिङ रुट बिस्तार गर्ने योजना  छ। त्यसमा पनि नयाँ पुलको आवश्यक छ। त्यहाँ डिपिआर भएको छ। लगभग अर्को साल त्यहाँ पनि नयाँ पुल बनाएर अर्को ट्रेकिङ रुट बनाउने योजना छ।

यसरी, हाम्रो वडा पर्यटकीय हिसाबले चर्चित छ। हामी प्राकृतिक रुपमै धनी त छौं। साथै, यसलाई जोगाएर व्यवस्थित पार्दै वडालाई समृद्ध बनाउने सोच छ। वडाध्यक्ष्यको रुपमा पुन निर्वाचित भएँ भने।

प्रकाशित मिति: : 2022-05-08 18:50:00

प्रतिकृया दिनुहोस्