चुनावी सभालाई सम्बाेधन गर्न दिपायल पुगे प्रचण्ड

डोटीकाे दिपायलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) र माओवादी गठवन्धनको चुनावी आमसभालाई सम्बोधन गरेका छन्।

डोटीको दिपायलस्थित पिपल्लाबजारबाट पूर्वपट्टी रहेको खुला चौरमा नेकपा एस र माओवादी गठवन्धनको संयुक्त चुनावी आमसभालाई प्रचण्डले सम्बोधन गरेका हुन्।

डोटी जिल्लमा ५ दलको चुनावी गठवन्धनको प्रयास असफल भएपछि नेकपा एस र माओबादीबीच चुनावी गठवन्धन भएको थियो।

आमसभा सम्बोधनका क्रममा उनले दिपायल सिलगढी नगरपालिकामा माओबादीबाट मेयरका उम्मेदबार बनेका के.पी साउँद र नेकपा एसबाट उपमेयरको उम्मेदबार बनेकी ऐश्वर्य विष्टलाई जिताउन सबैलाई अनुरोध गरेका थिए। आमसभा सम्बोधनकै क्रममा उनले खुटिया दिपायल सडक सुचारु गरी चाँडै नै कालो पत्रे गर्नेदेखि पश्चिम सेती निर्माण गर्ने समेत आश्वासन  दिएका थिए।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा सविधानसभाका सदस्य हर्कबहादुर सिंहले पनि आफ्नो भनाइ व्यक्त गरेका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, पूर्व मन्त्री पूर्णा जोशीलगायतका नेताहरुको उपस्थिति थियो। बिहान ११ बजे हुने भनिएको कार्यक्रम प्रचण्डको आगमनमा ढिलाइ हुँदा ४ बजे सुरु भएको थियो।

प्रकाशित मिति: : 2022-05-09 17:58:00

प्रतिकृया दिनुहोस्