माओवादी नेताहरूको निर्देशनमा कांग्रेस कार्यकर्तामाथि सांघातिक हमला भयाे– कांग्रेस राेल्पा

नेपाली कांग्रेस राेल्पाले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेताहरूको निर्देशनमा नियोजित ढंगले श्रृंखलावद्ध रूपमा आफ्ना नेता–कार्यकर्तामाथि सांघातिक हमला गरेकाे जनाएकाे छ।

मंगलबार साँझ विज्ञप्ती जारी गर्दै जिल्ला सभापति किशोरकुमार आचार्यले माडी, गंगादेवलगायत गाउँपालिककामा भएको घटनाको जाहेरी दिँदा प्रहरीले जाहेरी समेत नलिएको र घटनामा संलग्नहरूलाई हालसम्म पनि गिरफ्तार नगर्नुले स्थानीय प्रशासनको व्यवहारप्रति हाम्रो गम्भीर आशंका उत्पन्न भएको बताएका छन्।


विज्ञप्ती जस्ताको तस्तै 

संघीयतासहितको गणतान्त्रिक संविधान जारी भएपछि हुन लागेको स्थानीय तहको दोस्रो निर्वाचनलाई भव्य रूपमा सम्पन्न गर्न र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि चुनावी अभियानमा रहेका नेपाली कांग्रेसका साथीहरूमाथि ने.क.पा. माओवादी केन्द्रका केन्द्रीय नेताहरूको निर्देशनमा नियोजित ढंगले श्रृंखलावद्ध रूपमा भएका सांघातिक हमलाप्रति नेपाली कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त घटनाहरू जनतालाई आतंकित बनाई निर्वाचनलाई प्रभाव पार्ने गरी घटाइएको हाम्रो ठम्याई छ। २०७९ साल वैशाख २१ गते माडी गाउँपालिका वडा–३ का वडा अध्यक्षका उम्मेदवार निमबहादुर डाँगीमाथि साँझ ८ बजेतिरको समयमा फलामको रडले प्रहार गरी घाइते बनाइएका डाँगीको उपचार भैरहेको छ।उक्त घटनाको एकहप्ता नबित्दै २०७९ वैशाख २६ गते साँझ करीव ६ बजेको समयमा गंगादेव गाउँपालिका ५ का माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएका मानबहादुर डाँगीको प्रत्यक्ष निर्देशनमा गंगादेव ६ बस्ने नवराज महर, राजेन्द्र परियार, वडा–५ बस्ने प्रकाश केसी, वडा–४ बस्ने दीपक केसी, नवराज वि.क. लगायत वाइसीयलका कार्यकर्ताहरूले एक्कासी खुकुरी प्रहार गर्दा हाम्रो पार्टीका साथीहरू २५ वर्षीय मनबहादुर बुढा र २३ वर्षीय कमल बुढा गम्भीर घाइते भएको, उहाँहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ। २०७९ वैशाख २६ गते राती आफ्नै घरमा सुतिरहेका सुनिलस्मृति गाउँपालिका वडा–८ अरेश चौतारा पिपलफेद चिन्नेका  गनबहादुर पुनलाई करीव साढे ११ बजे राती सोही ठाउँका माओवादी केन्द्रका कार्यकर्ता गीताराम घर्ती, गौरे घर्ती, पृथ्वी घर्ती, हुनाराम घर्ती, नमबहादुर घर्ती, खुमबहादुर पुनले गरेको आक्रमणबाट घाइतेको बुटवलमा उपचार भैरहेको छ।

लोकतान्त्रिक अभ्यासको प्रकृया अन्तर्गत गरिने निर्वाचनमा अरूको अस्तित्व स्वीकार गर्न नसकी गरिएका यस्ता पासविक र जंगली रूपको अमानवीय घटनाप्रति स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछौं। माडी गाउँपालिककामा भएको घटनाको जाहेरी दिँदा प्रहरीले जाहेरी समेत नलिएको र घटनामा संलग्नहरूलाई हालसम्म पनि गिरफ्तार नगर्नुले स्थानीय प्रशासनको व्यवहारप्रति हाम्रो गम्भीर आशंका उत्पन्न भएको छ। हामी संयमित भै कानूनी कार्वाहीको प्रतिक्षामा धैर्य गरी बसिरहेको अवस्थामा दिनप्रतिदिन कांग्रेस कार्यकर्तामाथि सांघातिक आक्रमण भैरहँदा हाम्रो धैर्यताको बाँध टुटेर आत्मरक्षाका लागि प्रतिवाद र प्रतिकार गर्नुपर्ने अवस्था सिर्जना भएको महसुश गरिएको छ।

जिल्लामा सर्वदलीय बैठक बसी मित्रवत ढंगले निर्वाचनमा भाग लिने सबै दलको सहमति भएको तर त्यसको ठीक विपरित निरन्तर रूपमा आक्रमण भैराख्ने र स्थानीय प्रशासनले ती घटनाहरूको गाम्भीर्यतालाई नजरअन्दाज गर्दै जाने हो भने अब उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी पनि स्थानीय प्रशासन तथा नेपाल सरकारले लिनुपर्ने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं।निर्वाचनको समयमा जारी गरिएको आचारसंहिताको ठाडो उल्लंघन गर्दै ने.क.पा. माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती र जयपुरी घर्तीले सरकारी सवारी साधनको दुरूपयोग गर्दै चुनावी प्रचारप्रसारमा संलग्न भैरहेकोप्रति मूख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयको समेत ध्यानाकर्षण गराउँदछौं।

माथि उल्लेखित सबै घटनाका दोषीहरूलाई यथाशिघ्र गिरफ्तार गरी हदैसम्मको कानूनी कार्बाहीका साथ पीडितलाई न्याय दिलाउन सम्बद्ध सबैप्रति अनुरोध गर्दै आक्रमणमा परी उपचाररत सबै साथीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। यस्ता गम्भीर प्रकृतिका घटनालाई अझैपनि बेवास्ता गरी यथास्थिति नै कायम भैराखे अब उप्रान्त उत्पन्न हुने सबै घटनाको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने समेत जानकारी गराउँदछौं। जय नेपाल 

किशोरकुमार आचार्य
सभापति

प्रकाशित मिति: : 2022-05-10 22:52:00

प्रतिकृया दिनुहोस्