कम्युनिस्टको झुटको खेतीले जनताको ‘हिरो’ खड्ग फागोको जित सुनिश्चित

तेजन खड्का

उर्लाबारी
File Photo
File Photo

उर्लाबारी नगरपालिकामा यसपटकको निर्वाचनमा पनि २०७४ को जस्तै नेकपा (एमाले) र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धन आफ्नो जितभन्दा पनि 'एमाले हराउ'को रणनीतिमा ज्यादा केन्द्रित भएका कारण मूल प्रतिस्पर्धा एमाले- कांग्रेसबीच नै बनेको हो।

कांग्रेसबाट निवर्तमान मेयर खड्ग फागो मेयरका उमेद्द्वार छन् भने एमालेबाट गङ्गा खरेल र समाजवादीबाट मानबहादुर श्रेष्ठ छन्। श्रेष्ठलाई माओवादीको साथ छ। केन्द्रिय नीतिअनुसार मोरंगका अधिकांस पालिकामा सत्ताधारी दलहरुबीच गठबन्धन बन्न नसक्दा उर्लाबारीमा कांग्रेस एक्लै भिड्दैछ।

एक कार्यकाल मेयर भएर काम गरिसकेकाले फागोलाई जनतामाझ जान एकातिर सजिलो भने अर्कोतिर अफ्ट्यारो पनि छ। पाँच बर्षे 'मेयर ब्रान्ड'ले उनलाई नगरका कुनाकाप्चामा समेत पहिचानको समस्या छैन। आफूले गरेका र थालेका कामहरुको विवरण मतदाताहरुमाझ प्रस्तुत गर्न पाउने सुविधा पनि उनलाई छ। यो संगै कबोलअनुसार गर्न नसकेका र गरेका काममा भएका कमीकमजोरीहरुका विषयमा उनले नगरवासीको आक्रोश पनि खेपिरहेकाछन्।

पार्टी फुटले साइज घटेको भए पनि कांग्रेसको आन्तरिक असन्तुष्टीका कारण चुनाव जित्ने दाउमा रहेका एमाले उम्मेदवार गङ्गा खरेललाई समाजवादीका श्रेष्ठको उमेद्द्वारीले ठुलो तगारो तेर्स्याएको छ। जित्ने अवास्थामा नरहे पनि बामपन्थी भोट विभाजन गर्न श्रेष्ठको उम्मेद्वारी काफी देखिन्छ। संख्यात्मकरुपमा समाजवादीको आकार सानो भए पनि व्यक्तिगतरुपमा श्रेष्ठ लोकप्रिय मानिन्छन्। उनको लोकप्रियताले अन्य दलको समेत मत तान्ने प्रष्ट छ। यस्तो" मत उनले एमालेबाटै ज्यादा पाउने देखिन्छ।

कडा मिजास र खरो कार्यशैलीका कारण फागोले यस पटक उर्लाबारीको कांग्रेसलाई एक ढिक्का बनाएर चुनावी अभियानमा लान सकेनन्। पार्टीको क्षेत्रीय सभापति हुँदा उनले अघिल्लो चुनाव जितेका थिए। त्यो बेलाको जोस र लोकप्रियता अहिले प्रदेश सहायक महामन्त्री हुँदा उनले कायम राख्न सकेको देखिदैन। पछिलो समय कांग्रेस कार्यकर्ताहरुले नै उनलाई बढी विवादमा ताने। प्रदेश सहायक महामन्त्री निर्वाचित भएपछि पार्टीको केन्द्रिय राजनीतिमा उनको प्रभाव ह्वात्तै बढ्यो तर स्थानीय राजनीतिमा उनी सहकर्मीहरूकै तारो बने। इर्ष्याको मनोविज्ञानले पनि पार्टीको अन्तरिक राजनीति उनका लागि सहज बन्न सकेन। यो आन्तरिक असन्तुष्टिले फागोलाई थोरबहुत क्षेति गरेको छ।

खासगरी माथिल्लो बर्गकाहरुसंग फागोप्रतिको कतिपय असन्तुष्टि कायमै रहे पनि जनस्तरमा भने उनको प्रभाव बलियो देखिन्छ। विशेष गरेर विपन्न वर्ग र सर्वसाधारणमा उनको सकारात्मक प्रभाव छ। तल्लो वर्गका नागरिकको कुरा राम्ररी सुन्ने र उनीहरुको कामलाई महत्व दिने स्वभावाले फागोलाई जनस्तरमा बलियो बनाइराखेको छ। विपन्न वर्ग र सर्वसाधारणको भोटलाई नै उनले चुनाव जित्ने मूख्य रणनीति बनाएको देखिन्छ।

तत्कालीन उर्लाबारी र राजघाट गाविस सहित मधुमल्ला गाविसका २ वटा वडाहरु मिलेर बनेको उर्लाबारी नगरपालिकामा फागोले नै पहिलो पटक एमालेको स्थानीय सत्ता विस्थापित गरेका हुन्। २०४९ र २०५४ मा भएको स्थानीय चुनावमा ती तिनै वटा गाविसमा एमालेले लगालगी जितेको थियो। लामो समयपछि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा फागोले एमालेको गढ मानिएको उर्लाबारीमा कांग्रेसलाई स्थानीय सरकारमा स्थापित गराए। त्यो चुनावमा बहुमत ल्याउन नसके पनि व्यक्तित्व प्रभावले मेयर जितेका उनी यो चुनावमा पनि त्यही प्रभावबाट जीत हात पार्ने वातावरण बनाइरहेका छन्। दुई वामपन्थी नेता खरेल र श्रेष्ठको तिक्ततापूर्ण सहायक प्रतिस्पर्धाले समेत फागोको मिसनलाई प्रवर्धन गरिरहेको छ।

२०७४ को स्थानीयचुनावमा उलाबारीमा ३५ हजार २ सय ८८ मत खसेको थियो। त्यो मध्ये फागो ११ हजार ६ सय ३२ मत ल्याएर नगरप्रमुख निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी एमालेका भुपाल जिमीले ८ हजार ५४२ र माओवादी केन्द्रका राजेन्द्र पौडेलले १ हजार ९७९ मत ल्याएका थिए। अहिले उर्लाबारीमा ४४ हजार २७२ मतदाता रहेका छन्।

प्रकाशित मिति: : 2022-05-10 23:18:00

प्रतिकृया दिनुहोस्