धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले षडयन्त्र पूर्वक महिला प्रयोग गरेर आफ्नाे चरित्र हत्या गरिएको बताएका छन्।
धनगढीका मेयर पदका स्वतन्त्र उम्मेदवार हमालमाथि एक महिलालाई मादक पदार्थ सेवन गराएर विभिन्न आरोप लगाएको भिडियो सार्वजनिक भएपछि यस्ताे बताएका हुन्।
हमालले आफूमाथि राजनीति प्रतिस्पर्धा गर्न नसक्नेहरुले गलत बाटो राजेको स्पष्ट भएको बताएका छन्। मौन अवधिमा हमालमाथि गरिएको दुष्प्रचारको यतिबेला सर्वत्र विरोध भइरहेको छ।
ती महिलाले भने धाकधम्कीका कारण आफूले झुटो कुरा बोलको बताएकी छन्। उनले आफूलाई मादक पदार्थ सेवन गराएर हमालको विरुद्धमा बोल्न लगाएको बताइन्। उनले आफूलाई षडयन्त्रपूर्वक प्रयोग गरेको भन्ने भिडियोसमेत सार्वजनिक भइसकेको छ।
सो विषयमा मेयर पदका उम्मेदवार हमालले पनि आफूमाथि ठुलो षडयन्त्र भएको बताएका छन्। उनले आफूमाथि विभिन्न समयमा गलत आरोप लगाउँदै राजनीतिक फाइदा लिन खोजिएको जनाएका छन्।
हमालले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘कहिले मत बेचेर करोड कमायो, कहिले आरजु देउवालाई घर बेचेर मिलोमतो गर्यो, कहिले बेहडाबाबाको झुठो कसम खायो, कहिले एक्लो गोपाल हमाल कुनै काम गर्न सक्दैन जस्ता दुष्प्रचार गरेर मलाई चुनाव हराउनको लागि अनेक षडयन्त्र गरिएका छन्।’
उनले आफूमाथि विभिन्न किसिमका प्रपञ्च र तिगडमहरु अपनाउँदासमेत आफू निर्वाचन हार्ने निश्चित देखिएपछि मौन अवधि सुरु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिताविपरीत बुधबार चरित्र हत्या गर्ने उद्देश्यले महिलाको प्रयोग गरेको बताएका छन्।
महिलालाई धाकधम्की र झुठो आश्वासन देखाएर नियोजित रुपमा सार्वजनिक गरिएको भिडियोप्रति ध्यानाकर्षण भएको बताउँदै हमालले गलत हर्कत गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन्।