करेसाबारीमा क्रान्ति ल्याउँदै झुम्लाबाङ (फोटो/भिडियो)

सुरेन्द्र राना ‘घुमफिरे’

भूमे, रुकुम (पुर्व )

रुकुम (पूर्व)को भूमे गाउँपालिका वडा न. ३ स्थित झुम्लाबाङ गाउँ, एउटा छुट्टै पृष्ठभूमिबाट स्थापना भएको विविध जातजातीको साझा थलो। यहाँका पुर्खाहरु खनिज उत्खनन र विकास भएको समयमा खानी सम्बन्धि विभिन्न कार्यमा संलग्न थिए। उतिबेला टकसार समेत थियो, यहाँ। खानीका कारण बसालिएको बस्ति समेत भनेर चिनिन्छ, झुम्लाबाङ।

मगर, नेवार, गुरुङ, ठकुरी, क्षेत्री र दलित समुदायको मिश्रित बसोबास गाउँ हो, रुकुम (पूर्व)को झुम्लाबाङ। करिब २ सय वर्षअघि यो ठाउँमा गुल्मीको भार्से, बाग्लुङको गल्कोट र भक्तपुरबाट नेवारहरू, प्युठानसँगै देशका अन्य भागबाट बसाइँ सरी आएर आन्तरिक आप्रावासीहरुले बसालिएको गाउँको इतिहास छुट्टै र गौरवमय छ।

सन् २००९ मा स्थापना भएको झुम्लाबाङ भिलेज फाउन्डेसन (जेभीएफ) गाउँघरको विकासमा हातेमालो गरेका छन। समुदायमा आधारित यस संस्थाद्वारा गाउँमा शिक्षा, स्वस्थ्य, कृषि र संस्कृति जगेर्नामा समेत उल्लेख्य काम गरिरहेको छ। दुर्गम गाउँ जहाँ शिक्षा र स्वस्थ्यको चरम आवश्यक्तामा संस्थाले सामुदायीक स्वस्थ्य केन्द्र, स्कुल भवन, सांस्कृतिक भवन निर्माणलगायत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नुको साथै निम्न आयस्तरका बालवबालिकालाई छात्रवृत्ति प्रदान समेत गरिरहेको छ। हालको स्वस्थ्य केन्द्रलाई सामुदायीक अस्पतालको रूपमा स्तरोन्नत्ति गर्ने जेभिएफको भविष्यको योजना रहेको संस्थाको संस्थापक अध्यक्ष राम बुढा मगरले जानकारी दिए।

संस्थाले विभिन्न जागरुक्ता कार्यक्रमसहित कृषि क्षेत्रमा पनि सहयोगीको भूमिका निर्वाह गरेको छ।

संस्थाको पहलमा अहिले यो गाउँमा घर–घरमा करेसाबारी अभ्यास गर्न प्रोत्साहन गरिरहेको छ। र, अहिले प्राय: सबै टोलको घरमा करेसाबारी देख्न पाइन्छ।

‘हामी किसानहरुलाई बहुबाली कृषी प्रणालीमा जोड दिएका छौँ,’ अभियान्ता अजय मगर भन्छन,‘एकल बाली प्रणालीलाई सकेसम्म निरुत्साहित गरेका छौ।’ यस्तो प्रणाली अपनाउँदा वर्षभरि बारीमा केही न केही फलफूल र अन्नबाली सागसब्जी उत्पादन भइरहन्छ।

‘गाउँलेहरुलाई आफ्नो परिवारलाई तरकारीको समस्या हुँदैन, आफ्नै बारीमा फलेको अर्गानिक हरियो सागसब्जी खान पाएन्छ,' उनी भन्छन।

यसको मुल उद्देश्य सबैले सबैबाट कमाउने, स्वच्छ तरकारी खाने र बचेको बेचेर २/४ पैसा आम्दानी पनि हुन्छ।

घरको करेसाबारी या नजिकै एक टुकुडा जमिनमा तरकारी फलाउँदा घरको शोभा पनि बढ्छ, आ-आफ्नो घरमा ताजा, स्वच्छ र हरियो सागसब्जी पनि खान पाइने भएकोले किसानहरु यसतर्फ आकर्षित भएको अभियान्ता अजयको अनुभव छ।

बेला–बेलामा जेभिएफ संस्थाले गाउँपालिका र बाहिरबाट कृषि प्रविधिक झिकाएर गाउँका किसानलाई आवश्यक तालिमको आयोजना समेत गर्दै आएका छन। विउँ विजन भने गाउँपालिकाले नि:शुल्क वितरण गर्छ।

कृषिमा एउटै जमिनमा एक फसलको सट्टा एक मौसममा दुई वा बढी बाली उब्जाउने अभ्यासलाई बहुबाली प्रणाली भन्छ। यस्ता किसिमका फसल प्रणालीले किसानहरूलाई उनीहरूको बाली उत्पादकता र आम्दानी दोब्बर बनाउन मद्दत गर्दछ।

यो आर्थिक र वातावरणीय लाभको लागि कृषि उत्पादनलाई तीव्र पार्ने र बाली मिश्रणलाई विविधिकरण गर्ने तरिका हो।

'यसलाई हामी समुदायमा आधारित कृषि अभियानको रुपमा अगाडि बढाउदैछौ,' संस्थाको संस्थापक सदस्य समेत रहेका अजयले भविष्यको योजना सुनाए।

यसको प्रशिक्षण केन्द्रको रुपमा सामुदायीक स्वस्थ्य केन्द्र नजिक जग्गा भाडामा लिएर जेभिएफ संस्थाले करेसाबारी सञ्चालन गरेका छन। यहाँ विभिन्न जातका सागसब्जी र तरकारी उब्जाउँछन। यो एक प्रकारको करेसाबारी तालिम केन्द्र हो।

करेसाबारीमा मौसमअनुसारको सागसब्जी, केराउ, काउली, बन्दा, सिमी, कुरिलो, जर्रको, जंगली सागसब्जी उत्पादन गरेका छन। त्यस्तै मौसमअनुसारको तोरी, बहुवर्षीय सिमी, बकुल्ला, गोलभेडा, प्याज, लसुनजस्ता पोषणयुक्त तरकारीहरु उब्जाएका छन।

किसानहरुले यहाँ तालिम लिन सक्छन, उम्रेको विउ विरुवा समेत उनीहरुले लगेर आफ्नो करेसाबारीमा लगाउँछन। छोटो समयमा झुम्लाबाङका विभिन्न टोलमा किसानहरु करेसाबारीतर्फ आकर्षित हुँदैछ। शिक्षा, स्वास्थ्य र विकासका काममा सधै अग्रणी झुम्लाबाङबासी करेसाबारीमा समेत क्रान्ति ल्याउने बाटोमा छन।

प्रकाशित मिति: : 2022-05-15 18:49:00

प्रतिकृया दिनुहोस्