उडान सकाएर बिदा मनाउन जोमसोम उडेका अर्का क्याप्टेन पनि उतै अस्ताए 

आइतबार बिहानै ४ वटा उडान सकाएर बिदा मनाउन जोमसोम हिँडेका क्याप्टेन वसन्त लामा उतै अस्ताए।

पोखराबाट हुने ४ ओटा उडान सकेर लामाले जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेलाई हस्तान्तरण गरे। भोलिपल्ट फेरि उडान भएकोले उनी आइतबार पोखरामै बस्नुपर्ने थियो। त्यसैले उनले पोखरा बस्नुभन्दा जोमसोम पुगेर फर्कने निधाे गरे।

त्यसपछि उनी सोही जहाजमै जोमसोम उडे। उनले उडाउँदै आएको जहाज क्याप्टेन घिमिरेले उडाएका थिए। तर, दुर्भाग्य प्रभाकरसँगै क्याप्टेन लामाको पनि सोही उडान अन्तिम हुन पुग्यो।

क्याप्टेन लामा काठमाडौंस्थित बालुवाटार निवासी हुन्। उनका बुबा पनि नेपाल एयरलाइन्सका क्याप्टेन हुन्। क्याप्टेन दिके बुद्धिका छोरा वसन्त यती एयरलाइन्ससँग सन् १९९८ देखि नै आबद्ध भएका थिए।

२०७४ सालमा हुम्लाको सिमकोटमा भएको दुर्घटनामा लामा परेका थिए। हुम्लाको सिमकोट विमानस्थलबाट सुर्खेतका लागि उडेको तारा एयरको ट्विनटर जहाज दुर्घटना भएको थियो। दुर्घटना हुँदा वसन्त लामा क्याप्टेन थिए। दुर्घटनामा परी लामा र सहपाइलट रहेका अमित गुरुङको नाकमा चोट लागेको थियो।

४ वर्षअघि भएको दुर्घटनामा बाँचेका क्याप्टेन लामा तारा एयरभित्र अनुभवी चालक मानिन्छन्।

प्रकाशित मिति: : 2022-05-30 12:00:00

प्रतिकृया दिनुहोस्