एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ।
दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ। बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ।
यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी हो। २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो।
यस्तै, दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो।
एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ।
समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ।