रोल्पाली छाेरी नीमा घर्तीमगर वर्ल्ड गेम्समा

रोल्पाली छाेरी तथा नेपाली उसु खेलाडी नीमा घर्तीमगर वर्ल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएकी छन्।

जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमाले प्रतिस्पर्धा गर्न लागेकी हुन्। उनीसँगै अर्का खेलाडी दीपक हमालले पनि वर्ल्ड गेम्स भाग लिनेछन्।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट भएको नेपाल उसु महासंघले जनाएको छ। 

उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा विश्व उसु महासंघ र वर्ल्ड गेम्स फेडरेसनले छनोट गरेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिएका छन्। ‘वर्ल्ड गेम्समा दक्षिण एसियाका नेपाल र भारत मात्रै छनोट भएका छन्। उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ’, महासचिव लामाले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो।’

भारतमा भएको १२ औं सागमा स्वर्ण जितेकी नीमाले १४ औं तथा १५ औं उसु वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन्। यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा कांस्य र आईडब्लूयूएफ थाउलो भर्चुअल च्याम्पियनसिप २०२१ मा रजत पदक जितेकी थिइन्। 

दीपकले १४ औं तथा १५ औं उसु वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा सहभागी ५६ देशका खेलाडीमध्ये उनी उत्कृष्ट नौमा परेका थिए। यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा दीपकले पनि कांस्य पदक जितेका थिए। 

यही नतिजाका आधारमा नीमा र दीपक वर्ल्ड गेम्सका लागि छनोट भएको महासचिव लामाले बताए।

नीमा र दीपक दुवै थाउलोका खेलाडी हुन्। वर्ल्ड गेम्समा नीमाले नानकुन नानदाउ अलराउान्ड र दीपकले नानकुन नानगुन अलराउन्डमा प्रतिस्पर्धा गर्ने छन्। नीमाको समूहमा पाँच र दीपकको समूहमा सात जना खेलाडी परेका छन्।

प्रकाशित मिति: : 2022-06-09 07:21:00

प्रतिकृया दिनुहोस्

    बधाई छ नानुलाई खेलमा हार जित भई नै हाल्छ तर सहभागीता नै ठुलो कुरा हो |

    • 2 बर्ष अगाडि
    • खेम थापा मगर