भूमे गाउँपालिका–६ महतगाउँमा 'तेस्रो भूमे कप–२०७९' सुरू भएको छ।
खुल्ला भलिबल प्रतियोगितामा महिला तथा पुरूष सम्मिलित सात समूहले सहभागी जनाएका छन्।
सहभागी समूहमा भूमे गाउँपालिका र थबाङ गाउँपालिकाका 'ए' र 'बी'सहित निशिखोला र रूकुम पश्चिम समूह छन्।
त्यस्तै, ढोरपाटन मल्टी स्पोर्ट्स ट्रेनिङ सेन्टरका महिला र पुरूषकाे समूह छन् भने अन्य महिला तर्फ विजय दिप युवा क्लब भूमे–६ महत, भूमे–१ लुकुम र भूमे–९ चुन्वाङ रहेका छन्।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रूकुम पूर्व जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले युवाहरू भविष्यका कर्णधार भएकोले खेलकुद, शिक्षा लगायत हरेकक्षेत्रमा प्रगति गर्दै पालिका, जिल्ला, प्रदेश र राष्ट्र निर्माणमा अगाडि बढ्नुपर्ने बताएका छन्।
त्यस्तै, विशेष अतिथि उपप्रमुख मोहनबहादुर केसीले 'स्वस्थ्य नै धन हो', खेलकुदले शारीरिक र मानसिक विकास वृद्धिमा सहयोग पुग्ने भएकोले यस क्षेत्रमा युवाहरू स्वस्फूर्त रूपले भाग लिन प्रेरित गरेका छन्।
भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगरले युवाहरू खेल, कला, संस्कृति लगाएत हरेकक्षेत्रमा सहभागी हुन आवस्यक रहेको बताएका छन्।
विज्ञहरूको सल्लाह र अध्ययन गरेर आफ्नो कार्यकालमा स्थानिय सरकारले युवा विकास केन्द्र स्थापना गर्न सहयोग गरेको जनाएका छन्। यहि मूल्य–मान्यतालाई आत्मसात गरेर भूमेका युवाहरू निरन्तर अगाडि बढ्नेछ भन्ने आशा ब्यक्त गरेका छन्।
पहिलो स्थानीय सरकारले सुरूवात गरेको युवा संस्थालाई अवको सरकारले पनि निरन्तरता दिएर उनीहरूको सीप, क्षमता, उद्धमशिल्ता र शृजनशिल युवाहरू उत्पादन गर्ने विश्वास व्यक्त गरेका हुन्।
त्यस्तै, केन्द्रका संयोजक सुनिल कुमार रोकाले स्थानीय सरकारको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएकाले पालिकालाई धन्यवाद दिँदै आगामी दिनमा युवाहरू थप उत्साहपूर्वक विकासमा लाग्ने प्रतिबद्धता जनाएका छ्न्।
कार्यक्रममा भूमे–६ का अध्यक्ष बिक्रम पुनमगर तथा निवर्तमान अध्यक्ष देवबहादुर बुढामगरको उपस्थिति थियो।
भूमे युवा विकास केन्द्रले आयोजना गरेको भलिबल प्रतियोगितामा भूमे गाउँपालिका आर्थिक सहयोग रहेको छ। प्रतियोगिताको पुरस्कार राशी पहिलो हुनेलाई रू १ लाख, दोस्रोलाई ६५ हजार र तेस्रोलाई ३० हजार राखिएको छ।
खेलको रौनक बढाउन नृत्य प्रतियोगिता राखिएको केन्द्रका कोषाध्यक्ष बेदना बुढामगरले बताइन्। नृत्य प्रतियोगितालाई ५, ३ , २ हजार पुरस्कार राशी राखिएको छ। प्रतियोगिता ज्येष्ठ २८ देखि २९ गतेसम्म चल्नेछ।