पूर्वी नेपालका सडक किनारमा फस्टाउँदो व्यापार

तेजन खड्का

उर्लाबारी

काेराेना महामारीमा लकडाउनले गाउँमा सञ्चालन गरेको होटल बन्द भएपछि मोरङ बेलबारी– १० का मेघराज बस्नेतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको चिसाङ–भाउन्ने सडक किनारमा तरकारी पसल सुरु गरे।

टाउको लुकाउने साधारण घर र अलिकति पाखोबारी मात्र भएका बस्नेतले व्यापार सुरु गरेको अब चैतमा २ वर्ष लाग्छ। बन्दाबन्दी सकिएपछि उनी सडकको व्यापारबाट गाउँमा होटल गर्न फर्किएनन्। अहिले मेघराज बस्नेत मात्र होइन। उनी जस्ता ३५ भन्दा बढी व्यापारी सडक किनारमा मौसम अनुसारको व्यापार गरिरहेका छन। मोरङको भाउन्ने र चिसाङ खोला पूर्व र पश्चिममा केरा र मकैको व्यावसायीक खेती हुने गरेको छ। केरा र मकै मात्र होइन, निगुरो, तरुल र मौसमी तरकारी पनि त्यहाँको ब्राण्ड बनिसकेको छ।

मेघराज बस्नेतले भने,‘मकै बाह्रै महिना उत्पादन हुन्छ। किसानको बारी मै गएर प्रतिकट्ठा ८ हजार देखि ११ हजारसम्ममा हरियो मकै किन्न पाइन्छ।राजमार्गको दुबै तर्फ घना जङ्गल छ। दाउरा ल्यायो, भट्टी लगायो, अनि पोलेका मकै बेच्यो।’

अझ चिसाङ खोलाले बगाएर ल्याएका सालका दाउरामा पोलेको मकै खोज्ने ग्राहक धेरै हुन्छन्। २४ महिना भयो, मेघराजले ब्यावसाय थालेको त्यसयता कहिलै खाली हात घर फर्केको उनलाई सम्झना छैन।

५१ वर्षीय मेघराजको परिवारमा श्रीमतीसहित चार छोरी र एक छोरा छन। सडक व्यापारमा परिवारका सबै सदस्यको उत्तिकै सहभागिता छ। मेघराजले भने,‘कहिले म आउँछु, कहिले श्रीमती। हरिया मकै ठेक्का गर्न गाउँ पनि पस्नै पर्‍यो।’

उनले दैनिक खर्च कटाएर १ हजारदेखि १२ सय रुपैयाँ कमाइ भइरहेको बताए। मेघराज कै छेउमा टेकबहादुर याक्खाले तरुल, हरिया मकै र केराको ह्रास लगाएर व्यापार गर्छन। उनकी छोरी नजिकै भट्टी लगाएर मकै पोल्छिन।

‘३ बजेपछि श्रीमती पनि काम सघाउन आउँछिन्,’ लामाे समयदेखि सडकमा व्यापार गर्दै आएका याक्खा भने,‘काठमाडौंबाट आउने गाडी रोकेर पोलेका मकै खाएर जान्छन्। बिहान हरिया मकै किन्नेको भीड लाग्छ।’

मौसम अनुसारका तरकारी र निगुरोको सिजनमा व्यापार झनै चल्ने गरेको उनले सुनाए।

शम्भु बस्नेतको पनि परिवार सडकमै मकै पोल्ने र बिक्री गरेर पैसा कमाउनेमा मस्त छ। शम्भुले भने,‘बन्दाबन्दीले ब्यावसायीक बनायो।’

आफै मकै पनि उत्पादन गर्नुहुने बस्नेतले भने, ‘विगतमा मकै किनि देउ भनेर काँटाबालालाई ढोग्नु पर्‍थ्यो। मकैको खर्च उठाउन गाह्रो थियो। अहिले हरिया मकै बिक्री गर्न थालेपछि ६०/६५ दिनमा एक कट्ठाको मकैबाट घोगा बेच्दा १० हजार आफै पोलेर बेच्दा १८ हजार रुपैयाँ आम्दानी लिन सकिन्छ। जङ्गलको बीचमा भएकोले पानीको समस्या छ।’

हरेक व्यापारीले ग्राहकको सुविधाका लागि बस्ने मुडा, कुर्सीको बन्दोबस्त मिलाएका छन्। बस्नेत र याक्खा प्रतिनिधि पात्र मात्र हुन। उनीहरूजस्तै अरु ३० जना सडक किनारको व्यापारमै रमाएका छन्।

बन्दाबन्दीले अर्थतन्त्र थलिएका बेला सुरु भएको कृषि उपजसँग सम्बन्धित सडक बजार फष्टाएपछि अहिले बेलबारी ८, १० र ११ का र कानेपोखरी ५ र ७ का किसान व्यवसायीक केरा र मकै खेती बिस्तारमा लागेका छन्। बेलबारी– १० का किसान केशव भण्डारीले भने,‘हरिया मकै बिक्रीका लागि बजारको अभाव छैन।’

किसानहरू ३ बाली मकै फलाएर बेच्न थालेको भण्डारीले सुनाए।

प्रकाशित मिति: : 2022-06-17 16:00:00

प्रतिकृया दिनुहोस्