‘कप्तान नगरकोटीका उपचारमा कमी हुँदैन’ :महेश्वरजङ्ग गहतराज

File photo
File photo

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बिएण्डबी अस्पतालमा उपचाररत राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको उपचारमा राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आसन्न साफ च्याम्पियनसीप र १९औँ एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षणका क्रममा घाइते बनेकी नगरकोटीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका मन्त्री गहतराजले कप्तान नगरकोटी छिट्टै मैदानमा फर्केको आफूले हेर्न चाहेको र उपचारमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणको क्रममा यही असार २० गते सोमबार खेलाडी नगरकोटीको घाँटीमुनिको हड्डी भाँचिएको थियो। सोमबारै ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो।

चोटका कारण उनीले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप गुमाउने सम्भावना बढेको जनाइएको छ। नेपालले आगामी भदौ १३ देखि २५ गतेसम्म साफ च्याम्पियनसीप आयोजना गर्दैछ। सन् २०१० देखि राष्ट्रिय महिला फुटबल टोलीमा आबद्ध कप्तान नगरकोटी विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)की सदस्य हुन्।
 

प्रकाशित मिति: : 2022-07-07 13:27:00

प्रतिकृया दिनुहोस्