लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन्।
सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे। लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले ८७० अंक पाए।
महिला तर्फको एलिट विधामा लक्ष्मीले १४०० अंक सहित प्रथम स्थान हासिल गरिन्। १३५० अंक पाएकी उषा खनाल दोस्रो हुँदा इन्द्रकुमारी तामाङले तेस्रो स्थान हासिल गरिन्।
दुवै विधामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगल पुरस्कार प्राप्त गरे।
गत जनवरी ८ बाट सुरु भएको प्रतियोगिताको समापन आइतबार बालुवाटारस्थित ढुकु फुटसल हबमा भएको थियो।
२५० भन्दा बढी स्वदेशी तथा विदेशी साइकल राइडर सहभागी प्रतियोगिता पाँच विधाका विभिन्न १३ उमेर समूहमा आयोजना भएको थियो।
प्रतियोगिताको हरेक सात संस्करणलाई सात वटा फरक फरक व्यवसायीक साइक्लिङ संस्थाले आयोजना गरेका थिए। जसमा ट्रेक बाइक नेपाल, हिमालयन सिंगल ट्र्याक, एमटीबी कग्स, इपिक माउन्टेन बाइक, लक्ष्मी साइकल सेन्टर, प्याङ्क बाइक र ट्यापआउट फिटनेस तथा ढुकु स्पोर्ट्स हब रहेका थिए।
यस्तै, जुनियर पुरुष तर्फ राहुल वाइबा पहिलो, हिमान उपाध्याय दोस्रो तथा तेस्रो स्थान हासिल गरेका सुसिम चित्राकारले क्रमशः २०, १५ र १० हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको यूथ (१२) तर्फ पूर्णराज तामाङ विजयी भए। मास्टर पुरुष तर्फ टेलर हिवर्व, मास्टर महिला तर्फ गोगी ग्रेवल, भेट्रान (५० माथि) ड्यानियल डेनेस, ग्रान्डमास्टर पुरुष तर्फ पेम्बा शेर्पा, ग्रान्डमास्टर महिला तर्फ निभा श्रेष्ठ र सिनियर पुरुष तर्फ स्टेफन जेम्स किलिङ विजयी भए।
सात चरणसम्म चलेको प्रतियोगिताका विजेतालाई नेपाल साइक्लिङ संघका पूर्व अध्यक्ष छिमि उर्गेन गुरुङले पुरस्कृत गरे।
सिरिजका आयोजक एवं राष्ट्रिय साइक्लिङ टोलीका प्रशिक्षक प्रयास तामाङले प्रतियोगितामा नेपालको साइक्लिङ समुदायको उत्साहजनक सहभागिता रहेकोले आगामी दिनमा अझै भव्य र परिष्कृत ढंगले अगाडी बढ्ने बताए।