युवा ब्याटर बसिर अहमदले राष्ट्रिय क्रिकेट टिममा डेब्यु पाएका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा पहिलो ११ मा परेसँगै बसिरले औपचारिक रुपमा डेब्यु पाएका हुन्।
१८ वर्षीय बसिर अलराउण्डरका रुपमा समेत परिचित छन्। घरेलु प्रतियोगिता तथा उमेर समूहको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। बसिरले गत वैशाखमा जिम्बाव्वे ए सँगको खेलमा टी २० खेल र एकदिवसीय खेलमा नेपालबाट खेलिसकेका छन्। यद्यपि, सो खेल अनौपचारिक थियो।
बसिरले नेपालको यु- १९ टिमबाट समेत खेलिसकेका छन्। यस्तै, घरेलु प्रतियोगितामा भने प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ बाट खेलेका थिए। जुन प्रतियोगिता रुपन्देहीले जित्दा बसिर प्लेयर अफ द सिरिज चुनिएका थिए।
नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दैछ। यस खेलमा डेब्यु पाएका बसिर एकदिवसीयमा खेल नेपालको प्रतिनिधित्व गर्ने ३३औँ खेलाडी हुन्। नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ। नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्।
शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ। प्रतियोगिता अघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो। यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो। उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो।