प्रि-सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको न्युरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ।
बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २-१ अन्तरले पराजित गरेको हो। एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक-एक गोल गरे।
खेलमा अग्रता भने थोनबुरीले लिएको थियो। उसका किटिपोङ सइङपोङले ३२औं मिनेटमा अग्रता दिलाए। तर, मेसौउकेले ५३औं मिनेटमा बराबरी गोल फर्काए। पाएको पेनाल्टी सदुपयोग गर्दै दीपेशले ७६औं मिनेटमा विजयी गोल गरे।
यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रि-सिजन सकिएको छ। उसले यस क्रममा पाँच खेल खेल्यो। अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो।