सुडान हिंसामा कम्तीमा ३३ जनाको मृत्यु

सुडानमा दुई जनजातिबीच जारी झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। सुडानको ब्लु नाइल राज्यमा भएको हिंसाबाट भाग्न दर्जनौँ परिवार सुरक्षित क्षेत्रतर्फ भागेका छन्।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार झडपमा कम्तीमा १०८ जना घाइते भएका छन्। बर्टी र हवसा जनजातिबीच जग्गा विवादलाई लिएर सोमबार हिंसा भड्किएको थियो। हिंसापछि १६ पसलमा आगजनी गरिएको छ। 

‘हामीलाई स्थिति नियन्त्रण गर्न थप सेना चाहिन्छ’, अल–रोसेरेस शहरका स्थानीय अधिकारी एडेल अगरले भने। उनका अनुसार झडपपछि धेरै मानिसहरू प्रहरी चौकीमा शरण लिन खोजिरहेका थिए। 

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। हिंसालाई न्युन गर्न मध्यस्थकर्ता आवश्यक भएको उनले बताएका छन्। अशान्ति नियन्त्रण गर्न सेना तैनाथ गरिएको छ भने शनिबारदेखि राति कर्फ्यु लगाइएको छ।

ब्लु नाइलका गभर्नर अहमद अल–ओम्दाले एक महिनाको लागि कुनै पनि जमघटमा निषेध गरिएको बताएका छन्।

प्रकाशित मिति: : 2022-07-17 06:21:00

प्रतिकृया दिनुहोस्