स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर पछ्याएको हो।

स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए। २९ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि कलुमले काएल कोत्जरसँग ८२ रनको साझेदारी गरे। कोएत्जरले अविजित ४४ रन जोडे।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने कप्तान सन्दीप लामिछानेले २२ रन बनाए। विनोद भण्डारीले १३ रनको योगदान दिए।

स्कटल्याण्डका लागि हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए। ग्याभिन मेनले २ विकेट लिए। जितसँगै स्कटल्यान्डले २३ खेलबाट ३४ अंक जोडेको छ। नेपाल लिग टू को अंक तालिकामा २० खेलमा १७ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित मिति: : 2022-07-17 21:04:00

प्रतिकृया दिनुहोस्