पाेखराका प्याराग्लाइडिङ व्यवसायीले तिरेनन् व्यवसाय शुल्क

फाइल तस्विर
फाइल तस्विर

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आएपछि प्याराग्लाइडिङ व्यवसायीको अस्तित्व नै मेटिने चिन्ता छ। पोखरा प्राकृतिक सुन्दरतामात्रै होइन, साहसिक पर्यटनको मज्जा लिन चाहनेहरुको लागि गतिलो गन्तव्य पनि हो। उसो त नेपालमा पहिलो पटक प्याराग्लाइडिङको व्यवसायीक सुरुआत पनि पोखराबाटै भएको हो।

हाल सञ्चालनमा रहेको प्याराग्लाइडिङ पोखरा– १८ सराङकोटबाट खपौदी, चंखपुर, इन्ड अफ द लेकमा अवतरण हुन्छ। विमानस्थल सञ्चालनमा आएपछि अवतरण गर्ने क्रममा प्याराग्लाइडिङ बाधक बन्ने भएकाले प्याराग्लाइडिङको उडान बन्द गर्नुपर्ने हुन्छ। नयाँ अंग्रेजी वर्षदेखि सञ्चालमा आउने भनिएको पोखरा विमानस्थलको सञ्चालन हुने मिति नजिकिदै छ।

साहसिक खेल मन पराउनेका लागि पोखरामा प्याराग्लाइडिङ हब नै बनेको छ। तर, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आएसँगै प्याराग्लाइडिङ बन्द हुने भयले साहसिक खेल रुचाउने र व्यवसायीहरुलाई नमज्जाले सताएको छ।

प्याराग्लाइडिङ बन्द हुँदा करोडौंको लगानी डुब्ने मात्रै होइन। यसमाथि आश्रीत सयौंको रोजगारी पनि खोसिने छ। विमानस्थल सञ्चालनमा आए पनि प्याराग्लाइडिङ बन्द नहोस् भनेर व्यवसायीहरुले लबिङ पनि गरि रहेका छन्।

व्यवसाय बन्द हुने भय त एकातिर छ नै। तर, पोखरामा सञ्चालित प्याराग्लाइडिङ कम्पनीले व्यवसाय शुल्क बापतको रकम महानगरपालिकालाई नबुझाएको खुलेको छ। महालेखापरिक्षकको २०७९ को प्रतिवेदनले पोखरामा सञ्चालित प्याराग्लाइडिङ कम्पनीमध्ये केहीले व्यवसाय शुल्क नतिरेको प्रतिवेदन सार्वजनिक गरेको हो।

सञ्चालनमा रहेका ६३ कम्पनीमध्ये २९ प्याराग्लाइडिङ कम्पनीले मात्रै व्यवसाय दर्ता नविकरण गरे पनि व्यवसाय शुल्क बापतको रकम नतिरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। प्याराग्लाइडिङ व्यवसायीले व्यवसाय शुल्कबापत ५३ लाख ५९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाको प्रतिवेदनले देखाएको छ।

पोखरा महानगरपालिकाको आर्थिक ऐन २०७७ को अनुसूची १४ अनुसार प्रत्येक प्याराग्लाइडिङ व्यवसायीले व्यवसाय शुल्कबापत वार्षिक १ लाख रुपैयाँ बुझाउनुपर्छ। महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका व्यवसायी कम्पनीमध्ये दर्ता भएका २९ कम्पनीले व्यवसाय शुल्क बापतको रकम बुझाउन बाँकी रहेको महालेखाको प्रतिवेदनले भनेको छ।

नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष सुनील भट्टराईले ना'मा आबद्ध ५९ कम्पनी ३ प्याराग्लाइडिङ स्कुल र एउटा अल्ट्रालाइटसहित जम्मा ६५ कम्पनी रहेको बताए। त्यसमध्ये ४८, ५० कम्पनी नवीकरण भइरहेको उनले सुनाए। ‘कोही आफ्नै पर्सनल कामले पनि रिन्यु गर्न नपाएका। कोही प्रोसेसमै रहेका पनि छौं,’ उनले भने।

रिन्यु हुन नआउनेहरुलाई फ्लाइङ अपरेसन गर्न नपाउने उनले बताए। कुनै कुनै कम्पनी ढिला गरी रिन्युका लागि आउने गरे पनि त्यस्ता कम्पनीलाई जरिवाना तिराएर मात्रै रिन्यु गर्ने काम भएको उनले सुनाए। यद्यपि, उडान अनुमतिका लागि पनि कम्पनीहरु चालु अवस्थामै रहनुपर्ने र दर्ता प्रक्रियामै हुनुपर्ने हुन्छ। महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएको विषयबारे भने आफू पनि अनभिज्ञ रहेको उनले बताए।

‘यो विषयमा मलाई पनि जानकारी थिएन। जानकारीका लागि धन्यवाद, भर्खरै कार्यकाल सम्हालेको हुनाले पनि अपडेट हुन पाएको छैन। यसबारे के रहेछ म बुझ्छु,’ उनले भने।

प्रकाशित मिति: : 2022-07-19 20:10:00

प्रतिकृया दिनुहोस्