सार्वजनिक शाैचालयका लागि निजी क्षेत्र खाेज्दै पाेखरा महानगर, के भन्छन् व्यवसायी ?

Breaknlinks
Breaknlinks

पोखरामा सार्वजनिक शौचालयको समस्या पुरानै हो। व्यस्त बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था अझैं उस्तै छ।

तत्कालका लागि निजी क्षेत्रसँगको समझदारीमा व्यापारिक संस्थाका शौचालय सार्वजनिक रुपमा खल्ला गर्न महानगरले सार्वजकि आह्वान गरेको छ। सर्वसाधारणका लागि शौचालय सार्वजनिक रुपमा खुल्ला गर्न इच्छुक संस्था, व्यक्तिलाई साउन मसान्तभित्रमा महानगरसँग सम्पर्कमा आउन महानगरले विज्ञप्तिमार्फत आह्वान गरेको छ। सार्वजनिक शौचालय निर्माणका लागि महानगरसँग जग्गा नभएको बताउँदै महानगरले सहकार्यका लागि आह्वान गरेको छ।

महानगरको विज्ञपित सार्वजनिक भए यता आफ्नो संस्थाको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिन ११ संस्था सम्पर्कमा आइसकेका छन्। पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलकाअनुसार हालसम्म महानगरमा सार्वजनिक शौचालय प्रयोग गर्न दिन इच्छुक ११ निजी संस्था सम्पर्कमा आएका छन्।

‘अहिलेसम्म ११ वटा संस्था महानगरको सम्पर्कमा आइसक्नुभएको छ। तत्कालका लागि सरसफाइका लागि आवश्यक सामग्री महामनगरले दिने, सार्वजनिक शौचालयको संकेत चिन्ह बनाउने,’ उनले भने, ‘बाँकी काम उक्त संस्थाले नै गर्ने भन्ने छ।’

यसरी आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुल्ला गर्ने संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकतामा राख्ने भनिएको छ। व्यापारिक संस्थाको शौचालय सार्वजनिक प्रयोगका लागि खुल्ला गर्दा आवश्यक सरसफाइ र आवश्यक व्यवस्थापन स्वय संस्थाले नै गर्नुपर्ने छ। यसबारे महानगरको सम्पर्कमा आएका संस्थासँग सम्झौता गर्ने समयमा पनि थप प्रष्ट हुने सूचना अधिकारी पौडेलले बताए। ‘सार्वजनिक प्रयोगका लागि शौचालय दिन इच्छुक संस्था अहिले महानगरको सम्पर्कमा आइरहनुभएको छ। थप व्यवस्थापनबारे सम्झौता गर्ने विषयमा क्लियर हुन्छ,’ उनले भने।

सार्वजनिक शौचालयको खाँचो

पोखरामा सार्वजनिक शौचालय टड्कारो आवश्यकता हो। भएका सार्वजनिक शौचालय पनि व्यवस्थित छैनन्। सार्वजनिक शौचालय नहुँदा अनावश्यक तनाव खेप्नुपर्ने अवस्था छ। सर्वसाधारणले सास्ती भोग्नु परेको संवेदनशील विषयमा व्यवसायीहरु पनि सकारात्मक देखिएका छन्।

लेकसाइडमा होटल रानीवन आर्केड सञ्चालन गरिरहेका हरि भुजेल महानगरको यो निर्णयको सराहाना गर्छन्। महानगरले तारिफयोग्य निर्णय गरेको उनको भनाइ छ। ‘एकदमै राम्रो काम हो। सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणहरुले धेरै सास्ती भोग्नु परेको छ,’ उनले भने, ‘विदेशी नागरिकले त बरु शौचालय प्रयोग गर्छु भनेर हामीसँग भन्न सक्ला। तर, बाहिरबाट घुम्न आएका नेपाली आमाबुवाले त्यो भन्न पनि नसक्ने अवस्था छ।’

भुजेल आफ्नो व्यवसायिक संस्थाको शौचालय सार्वजनिक प्रयोगका लागि दिन तयार छन्। सट्टामा महानगरले फोहोर उठाए बापत लाग्ने शुल्क मिनाहा गर्न सक्नुपर्ने उनी बताउँछन्। ‘म मेरो संस्थाको शौचालय सार्वजनिक प्रयोगका लागि दिन तयार छु। तर, महानगरले फोहोर उठाए बापत लाग्ने शुल्क मिनाहा गर्नुपर्छ,’ उनले भने, ‘बरु महानगरले सरसफाईका लागि चाहिने सामग्री दिने भनेको छ। त्यो चाहिँदैन, फोहोर उठाए बापत लाग्ने शुल्क पनि १६, १७ सय हो। सरसफाइ सामग्री म नै व्यवस्था गर्छु।’

व्यवसायी सोम थापा मगर सार्वजनिक शौचालयको टड्कारो खाँचो रहेको बताउँछन्। महानगरले दीर्घकालीन उपाय खोज्नु आवश्यक रहे पनि तत्कालका लागि यो उपाय सही हुन सक्ने उनको भनाइ छ। ‘निजी संस्था सार्वजनिक रुपमा खुल्ला हुनु हुँदैन। तर, तत्काल समस्या समाधानका लागि यो उपाय पनि सही छ,’ उनले भने, ‘महामनगरले यसको दीर्घकालीन उपाय पनि खोज्नु पर्छ।’

लेकसाइडकै व्यवसायी निम मगर अरु कुरामा कम्प्रोमाइज गर्न तयार रहे पनि शौचालय अत्यावश्यक रहेको बताउँछन्। ‘शौचालय अत्यावश्यक हो। शौच गर्न नपाउँदा विभिन्न स्वास्थ्य समस्या थपिने खतरा पनि हुन्छ,’ उनले भने। महागनरले सार्वजनिक शौचालयको खाँचो बहन गरेकोमा खुसी लागेको उनले बताए।

निजी क्षेत्रको शौचालय सार्वजनिक रुपमा खुल्ला गर्दा व्यवस्थापनका चुनौती थपिने बताउँदै यसतर्फ पनि ध्यान दिनुपर्ने उनले सुनाए।

व्यवसायी गणेशबहादुर थापा भने महानगर हुकुमी शैलीमा उत्रकोमा बिमत्ति राख्छन्। निजी क्षेत्रसँग बिनाकुनै छलफल महानगरले व्यापारिक संस्थाको शौचालय सार्वजनिक रुपमा खुल्ला गरेको भन्दै उनले आपत्ति जनाए। ‘महानगर हुकुमी पारमा उत्रियो। एकपटक निजी क्षेत्रसँग छलफल गरेर, प्रस्ताव गरेर निर्णय गरेको भए राम्रो हुन्थ्यो। पुरानै शासकालजस्तो निर्णय महानगरले गरेको छ,’ उनले भने।

सार्वजनिक शौचालयको खाँचो रहे पनि महानगरको एकलौटी निर्णय गरेको उनले बताए।

हाल पोखरामा २७ सार्वजनिक शौचालय छन्। यसअघि काठमाडौं महानगरबाट सुरु भएको व्यापारिक संस्थाको शौचालय सार्वजनिक रुपमा खुल्ला गर्ने यो प्रयोग अहिले देशका प्रमुख सहरमा पनि थालिएको छ।

प्रकाशित मिति: : 2022-07-21 20:48:00

प्रतिकृया दिनुहोस्