लगातार दोस्रो पटक घरेलु मैदानमा आयोजना हुन लागेकाे महिला साफ च्याम्पियनसिप–२०२२ को लागि यतिबेला नेपाली टिम प्रशिक्षणमा व्यस्त छ। उपाधि जित्ने जिम्मेवारीसहित मुख्य प्रशिक्षकमा कुमार थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियुक्त गरेकाे छ। उनै थापा अहिले ५८ महिला खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षण गराइरहेका छन्।
प्रशिक्षणमा सहभागी ५८ खेलाडीलाई थापाले अन्तिम २३ मा झार्ने छन्। जुन खेलाडीले १३ देखि २५ भदौसम्म दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि जिताउन हरस्भव प्रयास गर्नेछन्।
‘एन्फाले मलाई दोस्रो पटक मौका दिएको छ। कसरी सफलता दिलाउने त्यो चुनौती छ। हामीसँग जे छ, त्यसमा सतप्रतिशत दिएर सफलता प्राप्त गर्छाैं भन्ने लागेको छ। टिममा लिग खेलेका, एसियन गेम प्रशिक्षण गरिसकेका खेलाडी छन्। हामी घरमै उपाधि राख्ने प्रयास गर्नेछौं,’ थापाले भने।
हुन त थापाले पहिलो पटक महिला टिम हेरेका हैनन्। उनकै प्रशिक्षणमा नेपाल भारतमा आयोजना भएको चौथो संस्करणमा सहभागी भएको थियो। तर, टोली सेमिफाइनबाट अगाडि बढ्न सकेन।
हालसम्म भएका पाँच प्रतियोगितामध्ये नेपाल चार पटक फाइनलमा पुगेको छ। सन् २०१६ मा थापानै प्रशिक्षक रहेकाे बेला टिम सेमिफाइनलबाट बाहिरिएकाे थियो। त्यो पनि सदावहार प्रतिद्वन्दी भारतसँग।
थापा आफै महिला टिममा पुनर्जन्म पाएको र यो नै प्रमाणित गर्ने समय रहेको बताउँछन्। ‘अघिल्लो पटक म असफल रहे। मैले पुनर्जन्म पाएको छु। यो भनेको मेरो लागि प्रमाणित गर्ने अवसर हो,’ विभागीय टोली एपिएफ फुटबल क्लबका पूर्वखेलाडी र जागिरे दुबै रहेका थापा भन्छन्।
थापासँग यसपटक कप्तान रेणुका नगरकोटे रहने छैनन्। यता, रिकवरी हुँदै गरेकी ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) हुनु सुखद् पक्ष हो। यस्तै, युवा खेलाडी सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सविता रानामगर, दीपा राई, गीता राना, एन्जिला तुम्बाप्पो सुब्बा, पुनम जर्घामगर, हिराकुमारी भुजेललगायत खेलाडीले लिगमा उत्कृष्ट प्रदर्शन गर्नु र प्रशिक्षणमा समेत राम्रो प्रदर्शन दिनु सकारात्मक देखिएको छ।
थापा यस पटक समेत सधैँ झै भारत नै नेपालको तगारो बन्ने र भारतलाई पराजित गर्न घरेलु दर्शक र खेलाडीको ‘इख’ नै ‘ब्रम्हास्त्र’ भएको बताउँछन्।
‘खेलाडीमा पनि १३औं साग र साफ च्याम्पियनसिप (विराटनगरमा भएको)दुई पटक हारेको पीडा छ। मसँग उपाधि नै जित्न भनेर हान्ने त्यस्तो ब्रम्हास्त्र नै छैन। खेलाडी सधैँ खेल्ने यिनै हुन्। यस पटक घरेलु दर्शक र खेलाडीमा भारतलाई हराउने इख छ। हामी आत्माविश्वासी छौं’, थापाको विश्वास छ।
दोस्रो पटक नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले साझ ५ बजे भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै, दोस्रो खेल १९ भदौमा श्रीलंकासँग रहेको छ। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। अन्तिम समय पाकिस्तानले सहभागी जनाउने भएसँगै प्रतियोगितामा सात टिम रहनेछन्।
यस पटक महिला टिमको लागि मैत्रीपूर्ण खेल नहुनु दु:खद् पक्ष भएको थापा मान्छन्। ‘पक्कै पनि ठूलो प्रतियोगिताअघि मैत्रीपूर्ण खेल महत्वपूर्ण हुन्छ। तर, हामीसँग यो नै छैन। केही प्रयास भएका पनि थिए, तर सम्भव भएनन्,’ थापाले भने।
यसअघि सन् २०१० मा बंगलादेशमा आयोजना भएको प्रतियोगितामा नेपाल भारतसँग १–० अन्तरले फाइनलमा पराजित भएको थियो। दुई वर्षपछि सन् २०१२ मा श्रीलंकामा भएको फाइनल खेलमा नेपाल भारतसँग नै फेरि ३–१ अन्तरले हार्याे।
यता, सन् २०१४ मा पाकिस्तानमा भएको फाइनलमा पुनः ६–० को हार बहोर्याे। सन् २०१६ मा भारतमा भएको प्रतियोगितामा नेपाल भारतसँग सेमिफाइनलमा ३–१ अन्तरले पराजित हुँदै पहिलो पटक फाइनल पुग्नबाट बञ्चित भयो। सन् २०१९ मा विराटनगरमा आयोजना भएको प्रतियोगितामा भने नेपाल भारतसँग पुनः ३–१ अन्तरले पराजित हुँदै घरेलु मैदान उपाधि जित्ने योजना सफल बनाउन सकेन।