स्वतन्त्र आन्दोलनले मुलुक बन्दैन: महासचिव पोखरेल

file photo
file photo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वतन्त्र आन्दोलनले मुलुक परिवर्तन नहुने बताएका छन्।

नेकपा एमाले लुम्बिनी प्रदेशको बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै महसचिव पोखरेलले भने, ‘मुलुकको समृद्धिका लागि संगठित आन्दोलनको आवश्कता पर्दछ। हरेक परिवर्तन संगठित आन्दोलनकै उपज हुन्। स्वतन्त्र आन्दोलनले मुलुक परिवर्तन हुँदैन।’

मुलुक समस्याग्रस्त बन्दै गएको भन्दै महासचिव पोखरेलले राजनीतिक संस्कार समाप्त हुँदा यस खालका समस्या उत्पन्न भएको बताए।

स्वार्थपूर्ति गर्नका लागि पाँचदलिय गठबन्धन कायम रहेको दाबी गर्दै पोखरेलले मुलुकको समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको बताए।

सरकार माफियाकरण हुँदै गएकोतर्फ चिन्ता व्यक्त गर्दै पोखरेलले भने, ‘सरकार माफियाको चंगुलमा फसेको छ। जनताका समस्या समाधान गर्नुमा भन्दा माफियाको स्वार्थपूर्ति गर्ने दिशामा सरकार लागेको छ। बजेट निर्माणका क्रममा सरकारले नांगो नाच नाचेको छ। मुलुकलाई माफियाकरण हुनबाट जोगाउन एमालेको नेतृत्व आवश्यक भइसकेको छ।’

सरकार चरम भ्रष्टाचार फसेको भन्दै महासचिव पोखरेलले जनतालाई सचेत बनाउन एमालेका नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताए।

‘मुलुकमा कुशासन व्याप्त भएको छ। जनतामा राजनीतिक दलप्रति बितृष्णा उत्पन्न भइरहेको छ। यस्तो अवस्थामा एमालेका नेता कार्यकर्ताहरु सरकारका गतिविधिका बारेमा जनताहरुलाई सचेत बनाउनतर्फ लाग्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार वर्तमान सरकारले भित्र्याएको छ। सरकारले भित्र्याएको नीतिगत भ्ष्टाचारले मुलुकको आर्थिक अवस्था जर्जर बनेको छ। जो खतरनाक सावित हुनसक्छ।’

मुलुक पौने एक खर्ब घाटामा

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुक पौने एक खर्ब घाटामा पुगेको बताए। 

सरकारको असक्षमताका कारण इतिहासकै डरलाग्दो व्यापार घाटा मुलुकले बेहोरिरहेको बताए। 

‘एमालेले सरकारको नेतृत्व गर्दा ६०/७० करोड व्यापार घाटा बेहारिरहेको मुलुकलाई गठबन्धको सरकारले पौने एक खर्बको घाटामा पुर्याएको छ। यो क्रम बढ्दै गइरहेको छ’, महासचिव पोखरेलले भने, ‘हामीले सरकारको नेतृत्व गर्दा मूल्यवृद्धि ३.५ प्रतिशत रहेकोमा अहिले ८.५ प्रतिशत मूल्यबृद्धि भइरहेको छ।’ 

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले बैध अर्थतन्त्र समाप्त पारी अवैध अर्थतन्त्र भित्र्याउन तल्लिन रहेको बताए। 

विचार विना पार्टी चल्न सक्दैन 

महासचिव पोखरेलले विचार विना पार्टी चल्न नसक्ने बताए।

अध्ययन र प्रशिक्षणले पार्टीलाई जीवन्त बनाउने हुँदा तल्लोदेखि माथिल्लो कमिटिलाई प्रशिक्षित गर्ने एमालेको नीति रहेको बताए।

अन्तपार्टी विद्रोहले पार्टी कमजोर बन्दै गएको भन्दै उनले आन्तरिक एकता बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए।

संगठनात्मक अराजकता फैलिन नदिन सबै लाग्नुपर्ने उनको भनाइ थियो। 

जनमत बलियो हुँदाहुँदा आन्तरिक एकता कमजोर हुँदा केही स्थानमा पराजय भोग्नुपरेको तितो यथार्थता नभुल्न महासचिव पोखरेलले नेताहरुलाई निर्देशन दिए। 

प्रकाशित मिति: : 2022-08-05 20:16:00

प्रतिकृया दिनुहोस्