द्वन्द्वकालीन पीडितहरू न्याय माग्दै १० दिनदेखि सडकमा, भन्छन्: हाम्राे आत्मासम्मान खै ? : (भिडियाे)

 

१० वर्षे माओवादी जनयुद्ध सकिएकाे १६ भइसक्याे। त्यसयता देशमा धेरै परिवर्तनहरू भए तर त्याे बेलाकाे घाउले द्वन्द्व पीडितहरूलाई अहिलेसम्म पनि सताइरहेकाे छ। इतिहासका ती काला दिनहरू सम्झिएर केही मानिसहरू अहिले पनि दुखद जीवन कटाउन बाध्य छन्।

त्यही द्वन्द्वकाे जगमा देशमा लाेकतन्त्र आयाे, ठुला–ठुला राजनीतिक परिवर्तनहरू भए युद्धमा सामेल भएकाहरू अहिले राज्य सत्तामा छन्। तर, त्यही आन्दाेलनमा सरिक केही मानिसहरूले अहिलेसम्म पनि न्याय पाउन नसकेर छट्पट्टीनु परेकाे छ। त्यस्तै मध्येका केही मानिसहरू न्यायकाे खाेजीमा केही दिनदेखि काठमाडाैँका सडकमा चिच्चाइरहनु परेकाे छ।

विभिन्न जिल्लाबाट आएरका द्वन्द्व पीडितहरू १० दिनदेखि काठमाडाैँकाे नयाँ बानेश्वरमा न्याय माग्दै धर्ना बसिरहेका छन्। वि.सं. २०५२-२०६२ सम्म चलेकाे माओवादी जनयुद्धमा १७ हजार मानिसले ज्यान गुमाएका थिए। याे भन्दा ठूलाे संख्यामा मानिसहरू घाइते अपाङ्ग भएका थिए। उनीहरूकाे रेखदेख तथा उपचारमा सहयाेग गर्ने भन्दै सरकारले पटक–पटक आश्वासन दिए पनि त्याे पूरा हुन नसकेपछि उनीहरू सरकारलाई ध्यानाकर्षण गराउनका लागि धर्ना बसेका हुन। सरकारले आफूहरूका माग पूरा नगरेकाले दबाब दिन धर्ना बसेकाे बताएका छन्।

द्वन्द्वमा आफ्नाे श्रीमान गुमाएकी रीता सेन पनि न्यायकाे खाेजीमा १० दिनदेखि यही समूहमा धर्ना बसिरहेकी छिन्। सम्मानजक रूपमा देशमा बस्न पाउनुपर्ने उनकाे माग छ। ‘द्वन्द्वकालमा मरेका तथा घाइते अपाङ्ग भएका पीडितहरुलाई नेपाल सरकारले सम्मान गरोस्। सरकारले पीडितहरुलाई सम्मान तथा केही सहयोग गरेको छैन, हाम्रो माग पूरा नभएसम्म हामी धर्नामा बस्छाैँ,’ रीताले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भनिन्।

त्यस्तै जनयुद्धमा सुरक्षाकर्मीका रूपमा रहेका गाेबिन्द गिरी पनि यही चाहन्छन्, सरकारले आफ्ना मागहरू पूरा गर्नु पर्‍याे, सम्मान पूर्वक बाँच्न पाउनुपर्‍याे। उनकाे पनि उही गुनासाे छ, सरकारले आफ्ना मागहरू सरकारले पूरा गरेन। ‘हामीले दुई पटकसम्म कानुन मन्त्रीसामु आफ्नाे कुरा राख्यौँ तर त्यहाँबाट पनि त्यस्तो केही आएको छैन।

न्याय नपाएसम्म हामीले आन्दाेलन गरिरहन्छाैँ,’ उनले भने। त्यसैगरी पीडित मध्येका अर्का व्यक्ति भाेजराज कार्की पनि सरकारले तत्काल आफ्ना मागहरू पूरा गर्नुपर्ने बताउँछन्।

प्रकाशित मिति: : 2022-08-07 17:19:00

प्रतिकृया दिनुहोस्