मोरङ-२ : एमालेलाई आफ्नै स्वतन्त्र उम्मेदवारको चुनौती

निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङ-२ मा दलहरुको सक्रियता पनि बढ्दै गएको छ। दलहरुले भटाभट निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्। दलबाट रुष्ट भएकाहरुले पनि स्वतन्त्र उम्मेदवार घोषणा गरिरहेका छन्।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि स्वतन्त्रप्रतिको मोह बढ्दो छ।

सामाजिक सञ्जालहरुमा त झन् स्वतन्त्रहरुको उपस्थिति व्यापक छ। पछिल्लो समय सञ्चारकर्मी रवि लामिछानेलगायको टिमले राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गरेपछि दलहरुमा अझ बढी त्रास उत्पन्न भएको देखिन्छ।

२०७४ को निर्वाचनमा नेकपा एमाले र ओवादी केन्द्रको बाम गठबन्धनले समेत कांग्रेसलाई पराजित गर्न नसकेको मोरङ-२ मा एमालेले यसपटक ऋषिकेश पोखरेललाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ। अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार उनलाई नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले पराजित गरेका थिए।

कांग्रेसले पनि यस क्षेत्रबाट उनै रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको छ। स्रोतका अनुसार यो क्षेत्रमा कांग्रेस मिनेन्द्रको विकल्पमा जाने पक्षमा छैन। कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका रिजाल कांग्रेसका प्रभावशाली तथा बौद्धिक नेता मानिन्छन्।

२०७४ को निर्वाचनमा दुई पार्टी मिलेर जाँदासमेत पराजित भएको एमालेलाई यसपटक गठबन्धनको चुनौती त एकातिर छदैँ छ, अर्कोतिर आफ्नै पार्टीका स्वतन्त्र उम्मेदवारको पनि चुनौती बढ्दै गएको छ।

एमाले पृष्ठभूमि भएका विनोदमणी भट्टराई र ठगेन्द्र न्यौपानेले मोरङ २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार घोषणा गरेका छन्। यी दुवै जनाले दलबलका साथ आफ्नो उम्मेदवारीलाई बलियो बनाँउदै गएका छन्।

सामाजिक सञ्जालमा भट्टराई र न्यौपानेका समर्थकको उपस्थिति व्यापक छ। दलका अधिकांश कार्यकर्ता यी दुईको पक्षमा लागिरहेका छन्। नेपालका राजनीतिक पार्टीहरु दलीय स्वार्थभन्दा माथि उठ्न नसकेको उनीहरुको आरोप छ।

दमक बहुमुखी क्याम्पसमा स्ववियु सभापति भइसकेका भट्टराई पछिल्लो समय कुशल अधिवक्ताका रुपमा परिचित छन्। २०४६ सालको परिवर्तनयता मोरङ क्षेत्र नम्बर २ मा कांग्रेसका प्रभावशाली नेता गिरिजाप्रसाद कोइराला, आमोदप्रसाद उपाध्याय, एमालेका ऋषिकेश पोखरेल र कांग्रेसका मिनेन्द्र रिजालले चुनाव जिते पनि यस क्षेत्रका जनताले आफ्नो प्रनितिधि भएको महशुस कहिल्यै गर्न नपाएको भट्टराईको तर्क छ।

अब राजनीतिक दलको जितले आम जनताको जीवनस्तरमा कुनै फरक नपार्ने उनको भनाई छ। दलका प्रतिनिधिहरु दलीय स्वार्थभन्दा माथि उठ्न नसकेको र आगामी दिनमा समाज परिवर्तनका लागि दलको विकल्प खोज्नुपर्ने बेला आएकाले प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्।

यस्तै न्यौपाने पनि दलको विकल्प खोज्नुपर्ने बेला आएको बताउँछन्।  लामो समय कोरिया बसेर नेपाल फर्किएका न्यौपने पछिल्लो समय कृषि अभियानमा लागेका छन्। राजनीति पेशा होइन, समाज सेवा हो भन्ने कुरालाई व्यवहारमा उतार्नुपर्छ भन्ने मान्यता राखेर उनी कृषि अभियानमा छन्। 

जीविकोपार्जनका निम्ति कृषिमा लागेका उनी राजनीतिलाई विशुद्ध समाज सेवाको रुपमा अघि बढाउने प्रयासमा छन्। उनले नेकपा प्रवास कमिटी, दक्षिण कोरियाको सदस्यसमेत भएर काम गरेका छन्। लामो समयदेखि राजनीतिसँगै समाज सेवामा लागेका छन्। उनी हाल नेकपा एमाले मोरङ जिल्लाको कृषि तथा पशुपंक्षी विभाग सदस्य छन्। 

एमालेका एक नेताले मोरङ २ मा एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी भएको दावी गरे। ‘बजारमा स्वतन्त्र उम्मेदवार विजयी हुने हल्ला चलेको छ। तर, निर्वाचनमा दलबीच नै प्रतिस्पर्धा हुन्छ। एउटा सिङ्गो व्यक्तिले हल्लाबाहेक केही गर्न सक्दैन, त्यसैले जनता भ्रममा नपर्नू,’ ती एमाले नेताले भने।

यी दुवैको स्वतन्त्र उम्मेदवारीले मुख्यतयः नेकपा एमालेलाई नै हानी हुन सक्ने बताइएको छ। एमाले पृष्ठभूमि भएका कारण एमालेको धेरै भोट काट्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2022-09-08 14:11:00

प्रतिकृया दिनुहोस्