खोटाङको दिक्तेलमा सुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको छ।
समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सुरु गरिएको उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पछि पार्दै नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको हो। नमस्ते सुपर खोटाङ यातायात प्रालिले २ गोल गर्दा नगरपालिकाले कुनै पनि गोल गर्न सकेनन्।
आइतबार तीन वटा खेल हुने छन्। पहिलो खेल बिहान ११.३० बजेदेखि योङ व्वाइज फुटबल क्लव र खोटाङ सिमपानी क्लवबीच हुने समता फुटबल क्लव सचिव सुमन हिङमाङले बताए। यस्तै, दिउँसो १.३० बजेदेखि बाम्राङ फुटबल क्लव र नेर्पा स्पोर्टस् क्लव तथा ३.३० बजेदेखि इन्द्रेणी पोखरी सामाजिक विकास क्ल्व र युवा जागरण क्लवबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ। प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले प्रतियोगिता उद्घाटन गरेका थिए।
प्रतियोगितामा जिल्लाका क्लव, वडा र संघसंस्था गरी १७ टिमको सहभागीता रहेको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोश्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेश्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डरलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ।