दाङ क्षेत्र नं. २ बाट पूर्व सभामुख कृष्णबहादुर महराको नाम सिफारिस भएको छ।
नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सिफारिस गरेको हो।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेर विजयी भएका थिए। सोही क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ।
अघिल्लो ०७४ को निर्वाचनमा महरा २ बाट चुनावमा उठ्दा पाखेरेल क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यका लागि उठेका थिए।
उनीहरु दुई एउटै गठबन्धनबाट सहयात्री बनेपछि यस निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिष्पर्धा हुने भएको छ।
माओवादी केन्द्र दाङले समानुपातिकतर्फ नाम भने सिफारिस गरिसकेको छ। अन्य क्षेत्रमा कसलाई सिफारिस गर्ने विषयमा अहिले छलफल भइरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए।