श्रीलंकालाई हराँउदै नेपाल सेमिफाइनल प्रवेश

महिला साफ च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराँउदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दास्रो खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो।

खेलको ९ औँ मिनेटमा रश्मी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसको २ मिनेटमै सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। 

यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गोल गर्दै नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो।

पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालका लागि दोस्रो हाफको ७५ औँ मिनेटमा अमिशा कार्कीको गोलमा नेपालले ५–० को अग्रता बनाएको थियो। खेलको इन्जुरी समयमा अमिशाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को जित दिलाईन्।

पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। आज श्रीलंकालाई हराउँदै समूह ‘बि’ को विजेतका रुपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ।

नेपालसँग पहिलो खेलमा पराजित भएको भुटानले पनि सेमिफाइनलमा स्थान पक्का बनाइसकेको छ। भुटानले दोस्रो खेलमा श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो।

यस्तै समूह ‘ए’ बाट भारत र बङ्गलादेश सेमिफाइनल पुग्दा माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।

प्रकाशित मिति: : 2022-09-12 19:35:00

प्रतिकृया दिनुहोस्