रेखा थापाको घरदैलो अभियानः अरूले सिन्को भाचेनन् तपाईलाई मत दिन्छौँ

नेपाली चलचित्र क्षेत्रकी नायिका रेखा थापा बिहीबार मोरङको ग्रामीण क्षेत्र पुगेकी छन्।

मंसिर ४ मा हुने निर्वाचनका लागि मोरङ क्षेत्र–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाएपछि नायिका थापाले व्यक्तिगत भेटघाट तीब्र पारेकी हुन्।

त्यसक्रममा नायिका थापाले विकास निर्माण र महिला मुक्तिलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कानेपोखरी गाउँपालिका वडा–५ र ६ को ग्रामीण बस्तीहरूमा नायिका थापा पुगेपछि त्यहाँका जनता उत्साहित बने। उनीहरूले यसवर्षको निर्वाचनमा स्वच्छ छविका उम्मेदवार नायिका थापालाई मतदान गर्ने राय समेत व्यक्त गरे।

‘हामीले विगतमा अरू पार्टीका उम्मेदवारलाई भोट दियौं, तर केहीपनि गरेन’, कानेपोखरी–५ का कुल्दन यादवले भने, ‘यसवर्ष हामी रेखा थापालाई भोट दिन्छौं।’ धर्म र संस्कृतिको रक्षाका लागि समेत यसवर्ष राप्रपालाई भोट दिने उनको भनाई थियो।

यसैबीच नायिका थापाले सुन्दरहरैचा नगरपालिका वडा–९, १० र १२ मा समेत व्यक्तिगत भेटघाट गरेकी छन्। त्यसअवसरमा नायिका थापाले स्थानीय वासिन्दाको समस्या र गुनासो सुनेकी थिइन्।

राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी थापाले नेपाली जनताले सही नेता छान्न सकेमा मात्र देशको हित हुने राय व्यक्त गरिन्।

देश बिग्रेमा सारा नेपाली जनताले दुःख पाउने बताउँदै थापाले अबको निर्वाचनमा स्वच्छ छवी भएका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन्। ‘म नेता बन्न आएकी होइन, सेवाको भाव लिएर आएकी हुँ’, नायिका थापाले भनिन्, ‘त्यसैले अव तपाईहरू सही नेता छान्नुहोस्, त्यो तपाईहरूको अधिकार हो।’

रेखा थापा उम्मेदवार बन्ने थाह पाएपछि महिलाहरू निकै हर्षित भएका छन्। उनीहरूले यसवर्ष थापालाई मतदान गर्ने बताएका छन्।

सुन्दरहंरैचा, खोर्सानेका एक मन्दिरमा भजनकिर्तनका लागि भेला भएका महिलाहरूसँग साक्षात्कार गर्दै नायिका थापाले आफूले लाखौं आमाहरूको पिर, व्यथा र मर्म बुझेको बताउँदै आफू महिला मुक्तिका लागि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरिन्।

सरकारको गैह्र जिम्मेवारीका कारण लाखौं युवाहरू कम पारिश्रामिकका लागि खाडी मुलुक जान वाध्य भएको र तीनै युवाहरूले पठाएको रेमिट्यान्सका कारण देश धानिरहेपनि सरकारले बेरोजगार युवाहरूको पक्षमा हालसम्म कुनै कदम चाल्न नसकेको थापाले बताइन्।

किसान, मजदुर, महिला र वेरोजगार युवाहरूको पक्षमा लड्ने अठोट व्यक्त गर्दै थापाले आफूलाई नीति निर्माण तहमा पुर्याउन आग्रह गरेकी छन्।

नेपाली जनता वर्षौदेखि शोषण र दमनमा पिल्सिएकाले अव त्यसबाट उन्मुक्ती पाउन नागरिकहरूले विवेकपूर्ण ढङ्गले सही उम्मेदवारलाई मतदान गर्न थापाको आग्रह छ।

प्रकाशित मिति: : 2022-09-15 21:06:00

प्रतिकृया दिनुहोस्