वर्षमानविरूद्ध एमालेले अघि सार्‍याे पूर्वबटालियन कमाण्डर

आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट चुनावी मैदानमा उत्रिएका छन्, ‘विमर्श’ अर्थात् पूर्णबहादुर बुढामगर।

दश वर्षे जनयुद्धले जन्माएका ‘कमरेड’ विमर्श अन्ततः नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका हुन्। शत–प्रतिशत रोल्पाली एमालेजनको समर्थनमा उनी एकल रुपमा केन्द्रसमक्ष सिफारिस भएकाे एमाले राेल्पाका एक सचिवालय सदस्यले जनाएका छन्।

‘कमरेड पूर्णको राजनीतिक सपना यसपालि पूर्ण हुनेछ। जनयुद्धको तुफानी यात्रामा सँगसँगै हिँडियो। सँगसँगै लडियो। हामी रोल्पालीहरूले एउटा गर्वलाग्दो इतिहास बनाएका छौँ। पूर्ण कमरेड जुनसुकै पार्टीबाट उम्मेदवार बनेपनि युद्धले जन्माएको एउटा नेता हो। वर्षमानलाई हेर्‍यौँ पटकपटक, पूर्ण कमरेडलाई हेरौँ यसपटक,’ जनमुक्ति सेनाका एक पूर्वबटालियन कमान्डरले भने।

एक समय पूरै राेल्पा माओवादीमय थियाे। सुप्रिमाे पुष्पकमल दाहाल 'प्रचण्ड' राेल्पा–१ बाट उम्मेदवार बन्दा नारा लाग्थ्याे– ‘सबैलाई हेर्‍यौँ पटकपटक, माओवादीलाई हेरौँ यसपटक।’ माओवादी उम्मेदवारलाई मत माग्दै यीनै पूर्वबटालियन कमान्डर विमर्शहरू नारा लगाइरेहका हुन्थे। पूर्वमन्त्री वर्षमान पुन पटकपटक संसद, मन्त्री बनेपनि जिल्लाका लागि केहि गर्न नसकेकाे माओवादी नेताहरूकै गुनासाे छ।

दुई दशकको राजनीतिक यात्राका क्रममा अनेकौँ उत्साह, कठिनाइ र भारी चुनौती भोगेको बताउँछन्, उनी। त्यसो त ‘कमरेड’ विमर्श माओवादी केन्द्रका उपमहासचिव तथा आफ्नै पूर्वकमान्डर वर्षमान पुन ‘अनन्त’विरुद्ध चुनावी मैदानमा खडा भएका छन्।

जनयुद्धकालमा नेता विमर्श जनमुक्ति सेनाको बटालियन कमान्डर हुँदा उनै अनन्त माथिल्लो तहको कमान्डर भएको पूर्वजनमुक्ति सेनाका सदस्यहरू बताउँछन्।

नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’को समर्थनमा रहेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पनि छन्।

‘कमरेड विमर्शसँग कैयौँपटक यात्रा गरियो। अग्रपक्तिमा खटेर युद्ध लडियो। गण्डक अभियानका बेला सँगसँगै हिँड्यौँ। भोक भुलेर पनि यात्रा गरेका छौँ। उनी मेरो राम्रो साथी हुन्। समयले फरकफरक कित्तामा उभ्यायो। तरपनि युवा मित्रको उम्मेदवारीले उत्साहित छौँ,’ माओवादी केन्द्र रोल्पाका एक सदस्यले भने।

नेकपा (माओवादी)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बाट राजनीतिक यात्रा आरम्भ गरेका उनी जनमुक्ति सेनाको बटालियन कमान्डरसम्म बने। 

गण्डक अभियानका क्रममा लडाइँको अग्रपक्तिमा खटिए, विमर्श। पार्टीको जिम्मेवारी र सैन्य भूमिका निर्वाह गर्ने क्रममा पश्चिमक्षेत्रको कुना–कुनामा पुगेका छन्, उनी।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमर्शलाई आफ्ना पूर्व सहकर्मीहरूले बधाई तथा शुभकामना दिइरहेका छन्। आ–आफ्नो मौन समर्थन जनाइरहेका छन्। ‘पूर्ण दाइलाई बधाई तथा शुभकामना छ। उहाँ र मेरो पार्टी फरक छ। म माओवादी र उहाँ एमाले। तरपनि हामीहरूबीच असल मित्रता छ,’ माओवादी केन्द्र त्रिवेणीका एक सदस्य भन्छन्, ‘युद्धताका हाम्रा बेग्लै दुःख थिए। नेताहरूले बुझेनन्। आगामी निर्वाचनमा उहाँलाई सक्दो सहयोग गर्नुपर्छ।’ 

तत्कालीन नेकपा (माओवादी)ले २०६३ तिर युद्ध–मैदानका आफ्ना हजारौँ हतियार क्यान्टोनमेन्टमा थन्क्याएपछि विमर्श पनि खुला राजनीतिको रंगमञ्चमा उत्रिएको बताउँछन्। लगतै माओवादीको संगठन विस्तारमा लागे। पार्टीमा काममा खटिए।

आउँदो निर्वाचनका लागि एमालेबाट विमर्शको उम्मेदवारी चर्चासँगै एमालेसहित कांग्रेस र माओवादीका स्थानीय नेता–कार्यकर्तासमेत उत्साहित छन्। 

जिल्लामा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएतापनि वर्षमानसँग कांग्रेस कार्यकर्ता सन्तुष्ट छैनन्। त्यसो त कांग्रेस प्रतिनिधिसभा सदस्यको उम्मेदवारबिनै चुवानी मैदानमा जानेछ।

‘गठबन्धन भएपनि रोल्पाली कांग्रेसले वर्षमानलाई भोट हाल्न सक्दैन। पहिलो कुरा त हामीहरू आफ्नै उम्मेदवार खोज्छौँ। दोस्रो कुरा पूर्णजीलाई सहयोग गर्नसक्छौँ। माथिल्लो तहका नेताहरू मिलेपनि माओवादीप्रति कांग्रेस कार्यकर्ताको मन भाँचिएको छ,’ नेपाली कांग्रेस रोल्पाका एक सदस्य बताउँछन्।

शान्ति प्रक्रिया यता विस्तारै–विस्तारै माओवादीको जनमत खक्किँदो छ। माओवादी विभाजनले हजारौँ नेता–कार्यकर्ता छरिएका छन्। कैयौँ उच्च तहका नेता–कार्यकर्ता एमालेको केन्द्रीय कमिटीदेखि गाउँ कमिटीसम्म सक्रिय छन्।

‘रोल्पाली जनताले यसपालि युवा उम्मेदवारले चुन्नेछ। कमरेड पूर्ण बुढा सूर्य चिन्हबाट चुनाव लडेपनि युवापुस्ताको उम्मेदवार हुनुहुन्छ। उहाँलाई एमालेसहित माओवादी, कांग्रेस र विप्लवका स्थानीय कार्यकर्ताको साथ छ,’ एमाले लुम्बिनी प्रदेश कमिटीका एक सदस्यले भने, ‘उहाँ युद्धले जन्माएको नेता हो। माओवादी नेता–कार्यकर्ताको पनि उतिकै प्रेम र सद्भाव छ। गठबन्धन हुँदै गर्दा कांग्रेस कार्यकर्ताहरू वर्षमानलाई भोट हाल्दैनन्, त्यसैले उहाँको जित पक्का छ।’

प्रकाशित मिति: : 2022-09-24 09:32:00

प्रतिकृया दिनुहोस्