एमालेले टिकट नदिएपछि योगेन्द्रले दिए स्वतन्त्र उम्मेदवार, प्रदेशमा पूर्व सांसदको बागी

मोरङ क्षेत्र नम्बर–५ एमालेले जसपालाई दिएपछि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवार दिएका छन्।

एमालेले टिकट नदिने भएपछि उनले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार दिएका हुन्।

एमालेले उम्मेदवार बनाउने आश्वासन दिएपछि मण्डल चुनावी अभियानमा होमिएका थिए। एमालेले जसपासँग गठबन्धन गरेपछि यो क्षेत्रमा जसपा मोरङका अध्यक्ष राजकुमार यादवले टिकट पाएका छन्।

मण्डलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दर्ता गराएको जानकारी दिए।

जीवन विकासका अध्यक्षसमेत रहेका मण्डल एमालेबाट उम्मेदवार बन्न लगातार पार्टी प्रवेश अभियानमा लागेका थिए।

सत्ता गठबन्धनबाट यो क्षेत्रमा माओवादीका शिवकुमार मण्डलले टिकट पाएका छन्। 

पूर्व एमाले सांसदको बागी उम्मेदवारी

नेकपा एमालेकी निवर्तमान प्रदेशसभा सदस्य बसन्तीदेवी यादवले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।

समानुपातिक सांसद रहेकी उनले मोरङ ५ (ख) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

पार्टीले उनको नाम प्रदेशसभाका लागि पहिलो नम्बरमा सिफारिस गरेको थियो। यो क्षेत्रमा एमालेले जसपासँग गठबन्धन गरेपछि जसपाका जयराम यादवले टिकट पाएका छन्। जयराम यादव अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए।

प्रकाशित मिति: : 2022-10-09 14:12:00

प्रतिकृया दिनुहोस्