प्रचण्डका प्रतिद्वन्द्वी गाेरखाका प्राध्यापक

फाइल तस्विर
फाइल तस्विर

प्रतिनिधि सभा सदस्यका लागि गृह जिल्ला चितवन छाडेर गाेरखा क्षेत्र नं.२ बाट उम्मेदवारी दर्ता गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अब्दुस मियाँसँगै प्राध्यापक प्रकाश थापालाई प्रतिद्वन्द्वीका रूपमा पाएका छन्।

२६ वर्षदेखि शिक्षण पेसा आवद्ध गाेरखाकाे पालुङ्टार नगरपालिका– ५ का थापाले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’काे रूपमा लाैराे चुनाव चिन्हमार्फत गाेरखा क्षेत्र नं.२ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्। शिक्षण पेसासँगै लेखकका रूपमा परिचित थापा सामाजिक कार्य सक्रिय छन्।

‘देशमा अनेकाैँ व्यवस्थाहरू फेरिए तर जनताकाे जीवनस्तर फेरिएन। जनताले राम्राे नेतृत्व पाउन सकेनन्। नेता र जनताबीचकाे खाडल बढ्न थालेकाेले नेताहरूलाई चुनाैती दिन र युवाका लागि नयाँ बाटाे बनाउन मैले उम्मेदवारी दिएकाे छु,’ थापाले भने। हालका राजनीतिक दलका नेताहरूले युवाहरूकाे आवाज नसुनेकाे र समयक्रमअनुसार काम गर्न नसकेपछि आफैँले जनप्रतिधिका रूपमा जनताकाे सेवा गर्न चुनावी मैदानमा हाेमिएकाे उनले बताए।

प्रचण्डले गाेरखा आएर चुनाव लड्नु यहाँका जनताकाे चाहनाविपरीत भएकाे उनकाे भनाइ छ। गाेरखाका जनताले नयाँ अनुहार र सक्षम व्यक्तित्व खाेजेकाेले आफूले जनताकाे साथ पाउनेमा उनी विश्वस्त छन्। यदि चुनावमा प्रचण्डले जिते पनि मुद्दामा आफूले जित्ने उनले दाबी गरे।

लेखन पेसा पनि सक्रिय थापाका चार वटा पुस्तकहरू प्रकाशित छन्। जसमा उनले नेपालकाे पर्यटन क्षेत्रलाई देश विदेशमा चिनाउन सक्दाे प्रयास गरेका छन्। ‘लाङ्टाङदेखि लण्डनसम्म’ उनकाे चर्चित नियात्रा हाे। थापाले ‘ट्राभर राइडिङ’ विषयमा पिएचडी गरिरहेका छन्। हाल उनले पाेखराका विभिन्न शिक्षण संस्थामा प्राध्यापन गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-10-10 16:15:00

प्रतिकृया दिनुहोस्