सत्ता गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादीको भागमा परेपछि आइतबार जगनाथ खतिवडाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
२०७४ को निर्वाचनमा माओवादीले जितेको यो क्षेत्र माओवादीले दावी गर्दै आएको थियो। तर, आफूलाई संकटमा साथ दिएका कारण माधव नेपालले खतिवडालाई टिकट दिलाए। अघिल्लो निर्वाचनमा माओवादीका सुरेश राई यो क्षेत्रबाट निर्वाचित भएका थिए। खतिवडाविरुद्ध नेपाली कांग्रेसका क्षेत्रीय सभापति राम कुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
लामो समयदेखि पार्टीमा लाग्दा पनि कामको उचित मूल्यांकन हुन नसक्दा आफूले स्वतन्त्र उम्मेदवारी दिएको राईले बताएका छन् । २०५४ को निर्वाचनमा उनी कांग्रेसबाट कटारी गाविसको अध्यक्षमा निर्वार्चित भएका थिए। २०७४ को निर्वाचनमा कटारी नगरपालिकाको मेयरमा पार्टीले टिकट नदिएपछि राई तत्कालीन नेकपामा प्रवेश गरेका थिए।
लामो समयदेखि कांग्रेसको राजनीतिमा लागेका राई कांग्रेस क्षेत्र नम्बर २ का बहालवाला क्षेत्रीय सभापति, पूर्व जिल्ला सचिब, महाधिवेशन प्रतिनिधि, महासमितिसमेत सदस्य हुन्। यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका रामकुमार खत्रीले टिकट पाएपछि उनको विरुद्धमा नेकपा माओवादीका हेम दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कटारी नगर कमिटीको ईन्चाजसमेत रहेका दाहालले गत स्थानीय तहको चुनावमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले धोका दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए।